
१२ लाख खर्चेर विपिचोक नजिकै बन्यो ट्याक्सी पार्क
जिल्ला सदरमुकामको विपिचोक नजिकै ट्याक्सी पार्किङ स्थल निर्माण भएको छ । नगर स्तरीय योजना अन्तरगत गोरखा नगरपालिकाले १२ लाख खर्चेर स्थल निर्माण गरेको हो ।
वडा नम्वर ६ र ७ को सिमानामा पर्ने त्यस क्षेत्रको खोलामा ह्यूम पाइप राखेर माटो फिलिङ गरिएको इन्जिनियर प्रकाश ढकालले बताए । ‘खोलामा ह्यूम पाइप राखेर दुवैतर्फ रिटेनिङ वाल लगाइएको छ,’ उनले भने, ‘त्यसमाथि माटो फिलिङ गरेर पार्किङ स्थल बनाइएको हो ।’ च्याम्वरमाथि ढलान समेत गरिएको उनले जानकारी दिए ।
सार्वजनिक जग्गा उपभोग गरेर पार्किङ स्थल बनाइएको वडा नम्वर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशीले बताए । ‘यो बर्ष १२ लाख रकम विनियोजन भएको थियो, त्यसको काम सकियो, अर्काे बर्ष विनियोजन हुने रकमले त्यहाँ ढलान गर्छाै,’ उनले भने ।
बजार क्षेत्रको ट्याक्सी पार्किङ व्यवस्थित गर्ने उद्देश्यका साथ योजना लागू गरिएको नगर प्रमुख कृष्ण रानाले बताए ।
शुल्क पार्किङको व्यवस्था हुने उनले जानकारी दिए । अहिले बसपार्क र विपिचोक आसपास अव्यवस्थित रुपमा ट्याक्सी पार्किङ हुदै आएको छ । अव सो क्षेत्रमा पार्किङ निषेध गरिने नगरपालिकाले जनाएको छ ।




