
मन्दिरका कर्मचारीद्वारा मनकामनाका भक्तजनमाथि हातपात
मनकामना मन्दिर दर्शनका लागि आएका भक्तजनमाथि मन्दिरकै कर्मचारीले हातपात गरेका छन् । भारतको कर्नाटकबाट आएका भक्तजनलाई मन्दिरका कर्मचारीले हातपात गरेका हुन् । घटनामा केही भक्तजन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
‘एकपटक मन्दिर दर्शन गरेर बाहिर निस्केपछि उहाँहरु फेरि मन्दिर पस्न खोज्नुभएछ,’, मनकामना प्रहरी चौकीका इन्चार्ज जीवनाथ सुवेदीले भने, ‘कर्मचारीले रोक्न खोज्दा विवाद भएर सामान्य हातपात भएछ ।’
घटनालगतै पीडित पक्षले प्रहरी चौकीमा उजुरी दिएका थिए । दुवै पक्षलाई बोलाएर सहमति गरेर पठाइएको सुवेदीले जानकारी दिए ।
भक्तजनमाथि अभद्र व्यवहार हुनु दुखद भएको मनकामना क्षेत्र बिकास समिति अध्यक्ष रामकुमार जोशीले बताए । यसअघि पनि पटक पटक यस्ता घटना हुने गरेको उनले जानकारी दिए । ‘खासगरी पुजारी इन्सान थापाका छोरा निशानको बिषयमा बढी उजुरी आउने गरेको छ, उहाँको बुवालाई राखेर पनि हामीले धेरै पटक सम्झाइसकेका छौँ, तरपनि लफडा भइरहन्छ,’ उनले भने । मन्दिरका पूजारीकै छोराले पटक पटक अभद्र व्यवहार गर्ने गर्दा मन्दिरको छवि धमिलिने भन्दै उनले चिन्ता व्यक्त गरे ।




