| बुधबार, कार्तिक २५, २०८३

‘गाउँघर रित्तियो, खेतबारी बाँझियो, गाउँफर्क अभियान चलाऔँ’

अहिले जताततै गाउँघर रित्तिने र खेतबारी बाँझिने अबस्था रहेकाले युवाहरुलाई गाउँ फर्काउने अभियान सञ्चालन गर्न भीमसेनथापा गाउँपालिका घर भई काठमाडौँ बसोबास गर्नेहरुले सुझाव दिएका छन् ।

आउँदो आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्नुअघि विज्ञहरुको सुझाव संकलन गर्न गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले ‘खेतबारी बाँझो र गाउँघर रित्तो’को अबस्था अन्त्य गर्न गाउँफर्क युवा लक्षित नीति तथा कार्यक्रम बनाउन सुझाव दिएका हुन् ।

गाउँपालिकाको मुख्य आयको स्रोत कृषि, पर्यटन र जंगल भएकाले यी क्षेत्रलाई सकेसम्म प्रवद्र्धन गरी युवालाई गाउँमै रहने वातावरण सिर्जना गर्न सोही गाउँपालिका घर भएका प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले सुझाव दिए ।

‘गाउँघर रित्तियो, खेतबारी बाँझियो, त्यसैले गाउँफर्क अभियान सञ्चालन गरौँ’, जनार्दन भट्टले भने, ‘प्राविधिक शिक्षालय सञ्चालन हुने भएको छ । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न पालिकाले अगुवाइ गर्नुपर्छ ।’ पालिकाले टुक्रे योजना बनाउन नहुने, वितरणमुखी कार्यक्रम गर्न नहुने, दीगो विकासका लागि काम गर्नुपर्ने उनको भनाइ थियो ।

पर्यटन विकास गरी आयआर्जन गर्न र पालिकाकाबाट बसाइँसराइलाई निरुत्साहित गर्न होमस्टे प्रवद्र्धन गर्नुपर्ने पर्यटन व्यवसायी राजेन्द्र लामिछानेले सुझाव दिए । उत्पादनलाई जोड दिनका लागि पालिकाले जग्गा चक्लाबन्दी गरी व्यवसायिक खेती गर्नुपर्ने डाक्टर जीवनाथ धितालको सुझाव थियो ।

विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा रहेर काम गरेका कृष्ण थापाले आर्थिक संवृद्धि हुने खालका व्यवसायिक खेतीमा जोड दिनुपर्ने सुझाव दिएका थिए । धावालाई बाख्रा पालन, मसेललाई तरकारी खेती, मध्यपहाडी लोकमार्गबाट दूध निकासी गर्ने राजमार्गका रुपमा विकास गर्न तथा बेनिघाट, आरुघाट सडकलाई पनि स्थानीय उत्पादन निर्यात गर्ने राजमार्गका रुपमा विकास गर्नुपर्ने उनको जोड थियो । ‘स्वागत गेट बनाएर त्यतिबेला मात्र फाइदा हुन्छ, जतिबेला त्यसलाई उत्पादनसंग र अर्थसंग जोड्न सकिन्छ’, उनले भने ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बाँझो खेत र रित्ता गाउँ अहिलेको तीतो यथार्थ भएकाले त्यो अबस्था अन्त्यका लागि कृषि उत्पादनलाई जोड दिनुपर्ने बताए । आफू ‘जयमाटो’ अभियानमा रहेकाले त्यसमा साथ दिन आग्रह गर्दै पुडासैनीले कृषि उत्पादन भएमा बजारको कुनै समस्या नहुने बताए । ‘काठमाडौँ बस्नेहरु पनि गाउँ फर्कौँ । बाँझो जग्गामा केही न केही रोपौँ । प्रत्येक वडालाई कृषि उपजका विशेष क्षेत्रका रुपमा विकास गरौँ, उनले भने ।

अर्का डाक्टर सुरेन्द्र भट्टले युवाहरुलाई विदेश जानबाट रोक्नका लागि उत्पादनमुखी कार्यक्रम बनाउन पालिकालाई सुझाव दिए । स्वरोजगार गरेर गाउँमै बस्ने वातावरण बनाउन पालिकाले नयाँ सोच र चिन्तनका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो । साथै प्रत्येक वडालाई विशेष उत्पादन क्षेत्रका रुपमा विकास गर्न पनि उनले सुझाए ।

कार्यक्रममा व्यक्त भएका सुझावहरुलाई गम्भीरतापूर्वक मनन गरी पालिकाले कार्यान्वयनको बाटोमा जानुपर्ने पत्रकार रामजी दाहाले आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रममा आर्थिक क्षेत्र, पूर्वाधार क्षेत्र, सामाजिक विकासका क्षेत्र, सुशासन क्षेत्र तथा वन तथा वातावरण क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्