| बुधबार, कार्तिक २५, २०८३

छोरा र छोरीप्रतिको भेदभाव मेटाउने ‘माक्पा’ परम्परा

बिहे गरेर पराइ घर जाने जात भनेर छोरीप्रति फरक दृष्टिले हेर्ने नराम्रो परम्परा तल्लो भेगतिर छ । तर गोरखाको उपल्लो भेगतिर भने माक्पाले बाँचुञ्जेल स्याहार सम्भार अनि मरेपछि काजकिरिया र अर्गुङ पनि गर्छन् भनेर छोरीप्रति समभावले हेर्ने परम्परा छ ।

धार्चे गाउँपालिका वडा नं. १ हुलचुकका ३९ बर्षका ङिटुप घले ससुराली घरमा ‘माक्पा’ बसेको १७ बर्ष भयो । ७५ बर्षकी सासु सुनेवती र ७७ बर्षका ससुरा कम्रक्षाको स्याहार सुसार गर्न उनी ससुरालीमै ‘माक्पा’ बसेका हुन् ।
कान्छीछोरी चेमेरानीलाई माग्न आउँदा नै ङिटुप र कम्रक्ष दम्पति बीच माक्पा बस्नुपर्ने बिषयमा सहमति भएको थियो । सहमति बनेपछि मात्र उनीहरुको बिहे भएको हो ।

सोही गाउँका धम्पाल गुरुङको घरमा दुईजना ज्वाइँहरु माक्पा बसेका छन् । जेठी छोरीज्वाइँ सामेसाली र दुङरक्षा माक्पा बसेका छन् । माहिली छोरीपट्टिका छोरीज्वाइँ सङ्मेन्दो र रख्खेको दम्पत्ति पनि माक्पा बसेका छन् ।
माक्पा भनेको यहाँको स्थानीय भाषामा घरज्वाइँ हो ।

छोरा छैनन् र छोरी मात्र भएको घरमा सासु, ससुरा र उनीहरुको घरसम्पत्ति, जायजेथाको स्याहार सम्भार गर्न माक्पा बस्ने चलन रहेको स्थानीय धम्पल गुरुङको भनाइ छ । ‘हाम्रो हुलचुकमा २५० जति घरधुरी छन् । यहाँ अन्दाजी १५ घरधुरीमा माक्पा छन्’, उनी भन्छन्, ‘कोही घरमा एउटा छोरी ज्वाइँ मात्र बसेका छन्, कोही घरमा दुईवटै छोरी ज्वाइँ माक्पा बसेका छन् ।’ छोरा नभएको घरमा बुबा आमाको स्याहार सम्भार, रेखदेख गर्न छोरीज्वाइँ बस्ने चलन व्यवहारिक रहेको उनको भनाइ छ ।

माक्पा बसेबापत उनीहरुले सासु ससुराको घर, जायजेथा, श्रीसम्पती सबै पाउने प्रचलन रहेको यहाँका पूर्व वडाअध्यक्ष दिलिप गुरुङको भनाइ छ । ‘हाम्रो गाउँमा माक्पा बस्ने पुरानै चलन हो’, उनी भन्छन्, ‘छोरा भएको घरमा त बा–आमाको स्याहारसुसार उसैले गर्छ । जुन घरमा छोरा छैनन् अथवा छोरी मात्रै छन् भने कुनचाहिँ छोरीज्वाइँ माक्पा बस्ने भनेर बुबाआमाले सल्लाह गर्छन् । प्रायजसो कान्छी छोरीज्वाइँ माक्पा बस्ने चलन छ । सरसल्लाह गरेर बराबर सम्पति बाँडेर लिने गरी अरु छोरीज्वाइँ पनि बस्न सक्छन् ।’

माक्पालाई लालपूर्जा बनाएरै घरजग्गाको स्वामित्व सुम्पिने चलन छ । ‘अलिअलि सम्पतिचाहिँ काजकिरिया गर्ने भाइखलकलाई पनि दिनुपर्छ । धेरैजसोचाहिँ माक्पाले नै पाउँछन्’, धार्चे गाउँपालिका ५ का वडाअध्यक्ष भीमप्रसाद गुरुङ भन्छन्, ‘चाडबाडका बेला देउदेउता बुझाउन, धामीझाँक्री(डाङ्ग्रे)लाई दिने खर्च र बुढाबूढीको सेखापछि काजकिरिया गर्न भाइ खलकलाई दिनका लागि केही प्रतिशत छुट्याउनुपर्छ । बाँकी सबै माक्पाकै भागमा हुन्छ ।’ किरिया र अर्गुङ छोरीज्वाइँले नै गरे भने यो खर्च पनि छुट्याउनु नपर्ने उनले बताए ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका सबै वडा र गाउँटोलमा ‘माक्पा’ परम्परा विद्यमान छ । यहाँ घरज्वाइँ बस्नु व्यवहारिक परम्परा मानिन्छ । ‘छोरा नभएको घरमा बुढाबूढीको स्याहारसुसार गर्नैप¥यो, जायजेथाको रक्षा गर्नैप¥यो । त्यो कसले गर्ने ? छोरीज्वाइँले त हो नि’, धम्पल गुरुङ भन्छन् ।

कतैकतै भने नयाँ पुस्ताले घरज्वाइँ बस्नुलाई लज्जाको विषयका रुपमा पनि लिने गर्छन् । ‘ससुराली घरमा बस्न लाज मानेर हाम्रोतिरचाहिँ नयाँ पुस्ताले अलिअलि सुधार गर्दै लगेका छन्’, धार्चे ४ लाप्राकका राज गुरुङ भन्छन्, ‘बुढा पुराना पुस्तामाचाहिँ माक्पा बस्छन् । नयाँ पुस्तामाचाहिँ ससुराली घरमा बस्नचाहिँ नजाने, तर आफ्नै घरमा बसेर सासुससुराको स्याहार सम्भार गर्नमात्र जाने गर्छन् । बुढाबूढीको सेखापछि उनीहरुको सम्पतिचाहिँ छोरीज्वाइँले नै लिने गर्छन् ।’ नजिक भएकाले आफ्नै घरमा बसेर सासुससुरालाई स्यहार गर्ने, टाढा भएकाहरु माक्पा बस्न जाने गरेको उनको भनाइ छ ।

कुन व्यवस्थाले माक्पा बस्ने भन्ने बारे विवाह गर्नुअघि नै पर्याप्त छलफल गर्ने चलन रहेको चुमनुब्री ३ का गणेश कार्कीको भनाइ छ । ‘बिबाह गर्नुअघि नै धेरै छलफल गरेर सबै कुराको टुंगो लगाएर माक्पा बस्ने चलन छ’, उनी भन्छन्, ‘यो यस क्षेत्रको पुरानो चलन हो । त्यसैले कुनै पनि कुरामा किचलो हुदैन ।’

माक्पा परम्पराका कारण यस क्षेत्रमा छोरा र छोरीमा भेदभावको अनुभूति नहुने उनको भनाइ छ । ‘तल्लो भेगतिर बिहे गरेर पराइको घरमा जाने जात भनेर छोरीलाई हेर्ने दृष्टिकोण अर्कै हुन्छ, तर हाम्रोतिरचाहिँ आफूलाई बुढेसकालमा लालनपालन, काजकिरिया छोराले पनि गर्छन्, छोरीले पनि गर्छन् भनेर छोरा र छोरीप्रतिको हेराइ उस्तै हुन्छ, भेदभावपूर्ण व्यवहार हुदैन ।’

प्रतिक्रिया दिनुहोस्