
पाँचखुवा देउरालीमा एसईई दिएका बालबालिकालाई कम्युटर तालिम
बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ मा पाँचखुवा देउरालीमा एसईई दिएर बसेका बालबालिकालाई निशुल्क रुपमा आधारभूत कम्प्युटर तालिम दिइएको छ । वडा कार्यालयको सहयोगमा वडा भित्रका ३० जना बालबालिकालाई आधारभूत कम्प्युटर तालिम दिइएको वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।
वैशाख १० गतेबाट सुरु भएको तामिल तीन महिनासम्म चल्नेछ । तालिम स्थानीय शैलपुत्री माविमा संचालन भइरहेको उनले बताए । विद्यालयलाई पनि सहयोग भन्ने उद्देश्यले केहि विद्यालयबाट र केही वडाबाट खरिद गरेको कम्प्युटरमा तालिम संचालन भइरहेको उनले बताए ।
अहिलेको प्रविधियुक्त समयमा हरेक क्षेत्रमा अनिवार्य कम्प्युटर चलाउन जानेको हुनुपर्ने र कम्प्युटर सिक्नका लागि महंगो शुल्क तिरेर बजार जानु पर्ने भएकाले वडाले नै बजेट विनियोजन गरेर आधारभूत कम्प्युटर तालिम दिएको उनले बताए । यसका लागि वडाले चालु आर्थिक बर्षमा ४ लाख रुपैया बजेट विनियोजन गरेको थियो ।
एसईई दिएकाहरुलाई लक्षित गर्दै कम्प्युटर आधारभूत तालिम दिएको बताउदै उनीहरुलाई १०÷१० जनाका दरले ३० जनालाई तीन सिफ्टमा तालिम संचालन गरिरहेको बताए । कम्प्युटर सिकाउनका लागि एकजना कम्प्युटर शिक्षक राखिएको छ । उनले प्रशिक्षार्थीहरुलाई कम्प्युटर सम्बन्धी आधारभूत तालिम दिनेछन् ।




