
गोरखाका स्थानीय तहले जेष्ठ नागरिक सम्बन्धी नीति निर्माण गर्नुपर्नेमा जोड
गोरखाका स्थानीय तहहरुले जेष्ठ नागरिकको सेवा, सुविधाका लागि विशेष नीति बनाउनुपर्नेमा जोड दिएका छन् । जेष्ठ नागरिक जिल्ला संघ गोरखाको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखा र गोरखा नगरपालिकाको सहयोगमा सदरमुकाममा आयोजित जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानमा उल्लेख भएका नीति नियमलाई व्यवहारमा कार्यान्वयन गर्दै पालिकाले पनि छुट्टै नीति बनाउनुपर्ने बताएका हुन् । जेष्ठ नागरिकहरुको स्वास्थ्य, उपचार, यातयात लगायतका सेवामा दिएको छुट कार्यान्वय गर्न सबै सरोकारवाला निकायहरु लाग्नुपर्ने समेत उनीहरुले बताएका थिए ।
त्यस्तै, स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण लगायत स्वास्थ्य उपचार कार्यक्रमहरु जेष्ठ नागरिकको घरघरमै पुगेर सेवा दिने व्यवस्था लागु गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ का प्रमुख प्रावधानहरु, जेष्ठ नागरिकप्रति स्थानीय सरकारको कानूनी दायित्व र स्थानीय तहले जेष्ठ नागरिकलाई उपलब्ध गराउन सक्ने छुट, सुविधा, सहुलियत लगायतका बारेमा सहभागिहरुलाई प्रस्तुतीकरण दिएका थिए ।
उनले जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने, आप्mनो परिवारका सदस्यले नै उनीहरुको पालनपोषण तथा हेरचाह गर्नुपर्ने, जेष्ठ नागरिकले आफूलाई मर्का परेको विषयमा उजूरी दिन सक्ने, जेष्ठ नागरिकलाई राज्यले परिचयपत्र उपलब्ध गराउने र सार्वजनिक यातायातमा दुई सिटका आरक्षणका साथै ५० प्रतिशत भाडा छुटको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने बताए ।
त्यस्तै, स्थानीय तहले जेष्ठ नागरिक स्वास्थ्य उपचारका लागि जाँदा निशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिनुपर्ने, साप्ताहिक तथा मासिक रुपमा घरघरमा स्वास्थ्य चेकजाँच तथा उपचारको व्यवस्था गरिदिनुपर्ने र ६० वर्ष भन्दा माथिका एकल पुरुषलाई मासिक भत्ता, र उनीहरुलाइ चाहिने सामग्री सहयोगका साथै जीवन विमा गरिदिनुपर्ने उनले बताए ।
हरेक भौतिक संरचना जेष्ठ नागरिक मैत्री बनाउनुपर्ने, अन्तरपुस्ता ज्ञान र सीप हस्तान्तरणका गर्नुपर्ने, पालिकामा जेष्ठ नागरिकको स्याहारकर्ता तालिम संचालन गर्नुपर्नु र जेष्ठ नागरिकले लेखेको पुस्तक प्रकाशन गर्न सहयोग गरिदिनुपर्ने उनले बताए ।
जेष्ठ नागरिकको उमेर अनुसार सामाजिक सुरक्षा भत्ता ५ हजार देखि ५० हजार सम्म दिने व्यवस्था सरकारले गर्नुपर्ने पूर्व अर्थ सचिव बास्कोटाले बताए । त्यस्तै, गोरखा जिल्लालाई जेष्ठ नागरिक मैत्री कानून निर्माणका लागि सबै स्थानिय तहलाई सघाउन तयार रहेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले संघले विगतले हाल सम्म संचालन गरेको गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
आफनै घरमा भएका आमाबाबु, सासुससुरालाई स्याहार गर्न प्रेरणा जगाउने कुसल बुहारी छनौट गरी सम्मान गर्दै आएको, जेष्ठ नागरिकसँग भएको ज्ञान, सीप लोप हुन नदिनको लागि जिल्ला भित्रका क्याम्पसका विद्यार्थीहरुालई पुस्ता हस्तान्तरण कार्यक्रम संचालन गरी आएको, जिल्लाभित्रका विभिन्न माविहरुमा पुस्ता हस्तान्तरण कार्यक्रम संचालन गर्दै आएको, जेष्ठ नागरिकहरुलाई विभिन्न समयमा न्यानो कपडा वितरण गरिएको र यातायातमा छुटका लागि संघको पहलमा जेष्ठ नागरिक परिचय पत्र वितरण गरिदै आएको उनले जानकारी दिए ।
त्यस्तै, गोरखा अस्पतालमा जेष्ठ नागरिकहरुलाई नागरिकता देखाएर पनि निशुल्क औषधी उपचार गर्ने व्यवस्था रहेको गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।
जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहन लाल श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना, पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन, गोनपाका उपप्रमुख मसली माया थोकर, पानपाका उपप्रमुख बन्दना पाण्डे, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, पुर्व अर्थ सचिव कृष्णहरि बास्कोटा, सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना, सामाजिक विकास कार्याल गोरखाका प्रमुख दिपेन्द्र परियार लगायत विभिन्न सरकारी तथा गैर सकारी कार्यालयका पदाधिकार, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।




