
सर्दीभिरको क्यान्टिलिभर पुल क्षतिग्रस्त भएको सात महिनापछि मर्मत
पहिरोले क्षतिग्रस्त भएको चुमनुब्री ६ लोक्पास्थित सर्दीभीरको पहिरोले क्षतिग्रस्त भएको क्यान्टिलिभर पुल सात महिनापछि मर्मतसम्भार भएको छ ।
गत असोज महिनामा पहिरोले क्षतिग्रस्त भएको क्यान्टिलिभर पुल गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा पुल मर्मत गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए । पुलको मर्मतका लागि पालिका र वडाको गरी करिब १८ लाख रुपैयाँ खर्च भएको उनले बताए ।
यसअघि पुलमा पहिरोले क्षति पु¥याएपछि पुलको छेउतर्फको भागमा काठ राखेर काम चलाइएको थियो । अहिले पुल पहिलो जस्तै नै मर्मत गरिएको उनले बताए ।
गत वर्षको असोज महिनामा निरन्तर वर्षका कारण पहिरो जाँदा सो पुलमा क्षति पुगेको वडा नं ६ का वडा अध्यक्ष सरोज लामाले बताए । पुल बनाउनका लागि सम्बन्धित प्राविधिक र सामानहरु ल्याएर पहिलेकै जस्तो क्यान्टिलिभर पुल बनाएको उनले बताए ।
भारी बर्षापछि झरेको पहिरोले सो पुलको करिब २० मिटर खण्ड कामै नलाग्ने भएर क्षतिग्रस्त भएको थियो । डेढसय मिटर रेलिङ भाँचिएको, स्ल्याब ढल्किको अबस्थामा रहेको उनको भनाइ छ । उनका अनुसार पुलबाट आवतजावत गर्न नमिल्ने भएपछि गण्डकी (स्यारखोला)को दुई स्थानमा काठे पुल बनाएको थियो । त्यहिबाट स्थानीयहरु आउजाग गर्दथे । त्यो पनि हिउदमा मात्र हिड्न पाइन्थ्यो । बर्खामा भने निकै समस्या भोग्नुपरेको थियो ।
सर्दीभिरमा रहेको क्यान्टिलिभर पुलबाट चुमनुब्री गाउँपालिका वडा नं ६ र ७ का गरी १९ वटा गाउँका स्थानीयहरु आउजाउ गर्ने गरेको वडा अध्यक्ष लामाले बताए । यो पुल उनीहरुको नाका जस्तै हो । गाउँमा खाद्यान्न लगायतका सबै सामग्री यहिबाट लाने गर्दछन् । तर पुलमा पहिरोले क्षति पु¥याउदमा साबिक चुम्चेत र छेकम्पारका बासिन्दा सहित चुमभ्याली घुम्न जाने पर्यटकलाई समस्या भएको थियो । अहिले पुल मर्मत भएपछि भने स्थानीयहरु खुसी भएका छन् ।
२०७२ सालको भूकम्पपछिको पहिरो र स्यारखोलामा आएको बाढीले मनासलु पदमार्ग कटान गरेपछि चुमभ्याली का बासिन्दाको आवतजावतको बाटो बन्द भएको थियो । अवरुद्ध बाटो खुलाउन झोलुङ्गे पुलमै प्रयोग गरिने स्टिलका संरचनाहरु प्रयोग गरी भित्तामा खोपेर क्यान्टिलिभर पुल जडान गरिएको हो ।
बेलायतको दातृ संस्था युकेएड(डिएफआईडी)को आर्थिक सहयोगमा नेपाल बजार विकास कार्यक्रमले तीन करोड ४० लाख लगानी गरी २४६ मिटर लामो पुल बनाइएको हो । सो बाटो भएर चुमभ्यालीका चुम्चेत तथा छेकम्पारका बासिन्दा सिर्दिबास तथा तल्लो भेगमा आवत जावत गर्ने गर्छन् । सो भीरमा क्यान्टिलिभर पुल बन्नु अघि स्थानीयबासी बर्खाको समयमा डोरी टाँगेर झुण्डेर यात्रा गर्न बाध्य थिए ।




