
डँडेलोले गोनपा ३ लामागरामा लगाएको अलैँची र कफीको बोट नष्ट
जथाभावी आगो लगाइदिँदा गोरखा नगरपालिका वडा नं ३ फिनाम स्थित लामगरा, लामसोती, निग्रेनीमा रहेको अलैची र कफीको बोट जलेर नष्ट भएको छ । वैशाख पहिलो हप्तामा स्थानीय गोठालाहरुले वन लगाएकोे आगलागीका कारण उत्पादन दिने बेलामा अलैँची र कफीको बोट जलेर नष्ट भएको स्थानीय सुशील थापा मगरले बताए ।
‘जंगल नजिक रहेको आफ्नै जग्गामा अलैची र कफी लगाएका थियौँ, बोट रोपेको पनि तीनवर्ष भयो, अहिले उत्पादन फल दिन थालेको थियो तर टिप्नै नपाइ आगोले खाइदियो’ उनले भने । स्थानीयहरुले जथाभावी वन आगो लगाइ दिँदा कफी र अलैँचीको बोट जलेर नष्ट भएको उनको भनाइ छ ।
उनका अनुसार स्थानीय सबै गरेर करिब पाँच रोपनी क्षेत्रफलमा एकसय वटा अलैँची र एक सय ५० वटा कफीको बोट रोपेका थिए । वैशाख ३, ४ गते दिउसो र रातभरि जंगलमा आगालागी भएको र उक्त आगोले सबै बोट जलेर नष्ट भएको मगरले जानकारी दिए । कृष्ण थापा मगर, मछिन्द्र थापा मगर लगायतका स्थानीयहरुले कफी र अलैँचीका बोट रोपेका थिए ।
यसले स्वदेशमा केही गर्छ भनेर लागेका व्यक्तिहरु निराश भएको पनि उनले बताए । विगत तीन वर्षदेखि नै कफी र अलैँचीको बोटविरुवाको स्याहार सम्भारका लागि झारपात उखल्ने, गोडमेल गर्ने, हाते टयाक्टरको जोत्ने र वार्षिक रुपमा १०÷१५ जना कामदार खटेर काम गरेको तर अहिले आएर सबै मिहिनेत खेर गएको उनी बताउँछन् । आफनो मात्र साढे दुई लाख भन्दा बढी खर्च भइसकेको बताउदै जंगलमा लगाएको डढेलोका कारण करिब पाँच लाख भँदा बढी क्षति भएको उनले बताए ।
उनका अनुसार अलैँचीले यस वर्ष र अर्को वर्ष कफीले उत्पादन दिने बेला भएको थियो । मानिसहरुमा जनचेतना भएता पनि गाइवस्तुका लागि नयाँ घासको पालुवा फल्ने आशमा जथाभावी आगो लगाउने प्रवृतिका कारण उत्त समस्या आएको उनले बताए ।




