
उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्रीकेन्द्र राख्ने निर्णय
उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्रीकेन्द्र सञ्चालन गर्ने निर्णय भएको छ । गत वैशाख ३ गते आपूर्ति मन्त्रालय र कम्पनीको बोर्ड बैठकले चुमनुब्री गाउँपालिका वडा नं. १, २, ४ र ५ का बासिन्दाका लागि वडा नं. ४ को नाम्रुङमा र वडा नं. ६ र ७ का बासिन्दाका लागि वडा नं. ६ चुम्लिङका लागि विक्रीकेन्द्र राख्ने निर्णय गरेको हो ।
सडक सञ्जालले नछोएका दुर्गमबस्तीका बासिन्दालाई खाद्यान्नको समस्या हुन नदिनका लागि दुई ठाउँमा बिक्रीकेन्द्र सञ्चाल नगर्ने निर्णय गरेको कम्पनीको शाखा कार्यालय गोरखाका प्रमुख मुनिलाल कुशवाहले जानकारी दिए ।
‘निर्णय बैशाख ३ गते भए पनि हामीलाई अस्ति सोमबार मात्र परिपत्र आयो’, कुशवाहले भने, ‘कम्पनीको गोरखा शाखाले जिल्ला स्तरीय विपत व्यवस्थापन समितिसंग सिफारिस लिई बारम्बार पहल गरिरहेका थियौँ । हामीले त डिपोका लागि पहल गरेका थियौँ तर विक्री केन्द्र भनेर स्वीकृति भएछ ।’ ती दुबै डिपोमा पाँच(पाँचसय क्वीण्टल चामल पठाउने तयारी गरिरहेको उनले बताए ।
‘बर्खा सुरु हुनअघि नै पाँच(पाँचसय क्वीण्टल चामल सम्बन्धित बिक्री केन्द्रमा पु¥याउँछौँ’, कुशवाहले भने, ‘हाम्रा ठेकेदार जान्छन् । जनप्रतिनिधिसित मिलेर चामल बेच्छन् र पैसा कम्पनीलाई बुझाउँछन् ।’ हाल यी दुवै केन्द्रमा सोनामन्सुली चामल प्रतिबोरा (३० किलो) १८ सय र जिरा मसिनो चामल प्रतिबोरा(२५ किलो)को २२ सय रुपैयाँमा बिक्री गरिने उनले बताए ।
गोरखामा सिर्दिबासको फिलिम र धार्चेको माछाखोलामा खाद्य डिपो छन् । माछाखोलाका लागि पाँचसय क्वीण्टल र सिर्दिबासका लागि यो बर्षका लागि ३५ सय क्वीण्टल चामल ढुवानी गर्न ठेक्का लागि सकेको छ । ठेक्का भएकामध्य सिर्दिबासका लागि २७ सय क्वीण्टल ढुवानी भइसकेको छ ।
माछाखोला डिपोमा भने चामल बिक्री नभएका कारण नओसारिएको कुशवाहले बताए । त्यहाका लागि ६५ क्वीण्टल मात्र पठाएको र त्यो पनि बिक्री नभएको उनको भनाइ छ ।
आफूहरुले डिपो माग गरेको तर सरकारले बिक्रीकेन्द्र मात्र दिएको भन्दै वडा अध्यक्षहरुले गुनासो गरेका छन् ।
‘गोदाम होस्, त्यहाँ कम्पनीका कर्मचारी होउन् । यो दिनमा बाँड्ने भएनेपछि कम्पनीका कर्मचारी जाउन्, बेचुन् । हामीले यस्तो खालको संरचना माग गरेका थियौँ’, वडा नं. ६ का अध्यक्ष सरोज लामा भन्छन्, ‘तर अहिले भनेसुने अनुसार हामीले कुन घरलाई कति चामल चाहिएको छ भनेर तथ्यांक संकलन गर्ने, पैसा पनि उठाउने र कार्यालयलाई बुझाएपछि मात्र चामल पठाउने रे । यस्तो त हामीले माग गरेको होइन । यस बिषयमा कार्यालयले हामीसित सरसल्लाह पनि गरेको छैन ।’ गाउँलेहरुसित पैसा उठाएर कम्पनीलाई बुझाउने काम वडा कार्यालयले गर्न नसक्ने उनको भनाइ छ ।
आफ्नो वडाको वडा कार्यालय गपमा रहेको र केन्द्र पनि गपमा पर्ने हुँदा खाद्यको इकाइ गपमा राख्नुपर्छ भन्ने आफूहरुको माग नसुनी एकातर्फी निर्णय गरेको भन्दै वडा नं. ४ का वडाअध्यक्ष पेमा ग्याल्बो लामाले गुनासो गरेका छन् ।
कम्पनीका गोरखा कार्यालय प्रमुख कुशवाहले भने यो प्रारम्भिक चरण भएकाले केही कठिनाइ आए पनि आपसी समन्वयमा समाधान गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।




