| बुधबार, कार्तिक २५, २०८३

गोरखाका मुस्लिम समुदायले भव्यका साथ ईदुलफित्र मनाए

गोरखामा बसोबास गर्दै आएका मुस्लिम समुदायले एकआपसमा शुभकामना आदानप्रदान गर्दै ईदउलफित्र भव्य रुपमा मनाएका छन् ।

शनिबार विहानै नुवाइधुवाई गरी आफनो हैसियच अनुसारको नयाँ लुगा लगाइ एकआपसमा एकअर्कालाई अंगालो हालेर ‘ईद मुबारक भन्दै महिला तथा पुरुषहरुले शुभकामना साटासाट गरी ईदुलफित्र मनाएको हरमटारीमा रहेको रजा मस्जिद व्यवस्थापन समितिका अध्यक्ष बर्गतुल्ला मियाँले बताए ।

३० दिनको रमजान पर्व शुक्रबार सकिएको र शनिबार देखि तीन दिन सम्म ईदुलफित्र पर्व मनाइने उनले बताए । यो अवधिमा मस्जिद गरी प्रार्थना गर्ने तथा वर्षभरी आफुले कमाएको आम्दानीको केहि रकम दिन, दुखी, गरिबहरुलाई दान गर्ने चलन रहेको पनि उनले जानकारी दिए ।

जिल्लामा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक र आरुघाट गाउँपालिका लगायतका स्थानमा मुस्लिम समुदायको बसोबास रहेका छन् ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्