| बुधबार, कार्तिक २५, २०८३

गोरखामा अब श्रम स्वीकृतिका लागि पालिकाहरुबाटै फाराम भर्न सकिने

वैदेशिक रोजगारीमा जानेहरुले अब आ–आफ्नो पालिकाबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन पाउने भएका छन् । गोरखाका विभिन्न पालिकाहरुले वैशाख १ गतेबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम भर्न सुरु गरेका हुन् ।

वैदेशिक रोजगारीमा जानेहरुले श्रम स्वीकृति तथा पुनः श्रमस्वीकृतिका लागि आ–आफ्नै पालिकामा आवेदन दिन गोरखाका पालिकाहरुले सूचना जारी गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो ।

यसअघि विभागबाट मात्र फाराम भर्दा बिचौलिया(दलाल)हरुले दुख दिने तथा आर्थिक चलखेल गर्ने गरेकाले वैदेशिक रोजगारीमा जान चाहनेहरुको सजिलाका लागि पालिकामा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको पालिकाहरुले जनाएका छन् ।

धार्चे गाउँपालिकाले विहिबारदेखि सेवा सुरु गरेको जनाएको छ । गाउँपालिकाका रोजगार संयोजक खगेन्द्र गुरुङका अनुसार मन्त्रालयको परिपत्र अनुसार नै उक्त काम सुरु गरिएको हो । ‘यसअघि काठमाडौँ गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, धेरै समयसम्म लाइन बस्नुपर्ने, दलालीहरुलाई महङ्गो शुल्क दिएर अनलाइन फर्म भर्नुपर्ने बाध्यता थियो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि धेरै सहज हुन्छ’, उनले भने ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने गुरुङले सुनाए ।

वैदेशिक रोजगारीलाइै थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा बनाउनका लागि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिग श्रम स्वीकृत तथा पुन ः श्रम स्वीकृतिका लागि अनलाइन फाराम भर्ने कार्य स्थानीय तहबाट नै सुरु भएको गुरुङले जानकारी दिए ।

धार्चे, गण्डकीसहित अन्य पालिकाहरुले पनि पालिकाबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ ।
यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य अगाडि बढाइएको थियो । त्यसपछि पनि श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थियो ।

सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले यो निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । सेवा केन्द्रबाट आवेदन दिँदा सम्बन्धित स्थानीय पालिकाबाट कति श्रमिक वैदेशिक रोजगारीमा गए, कुन–कुन सीप सिकेका जनशक्ति बाहिरिए भनी तथ्याङ्क राख्न पनि सहयोग हुने उहाँको भनाइ छ ।

गोरखा सहित देशभरका ७५३ वटा पालिका केन्द्रबाट नै अनलाइन फाराम भर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्