
फोटो, भिडियो खिच्न र टिकटक बनाउन करोडौँ खर्चेर झोलुंगे पुल, पिचरोडमा झोलुंगे पुल के काम ?
गोरखाबजारबाट चार किलोमिटर कालोपत्रे सडकको यात्रा गरेपछि धनुबाँसे आउँछ । गोरखा नगरपालिका ४ धनुबाँसेमा हालसालै एक झोलुङ्गे पुल बनेको छ । करोडौँको लागतमा निर्माण गरिएको सो पुलमा अहिले टिकटक बनाउने र साँझपख कावा खान जानेको भीड लाग्छ ।
सदरमुकामबाट नजिक र कालोपत्रे सडक संगै रहेकाले सो झोलुंगेपुलसम्म मनोरञ्जन लिन जानेको संख्या बढेको हो । बार्षिक परीक्षा तथा एसईई परीक्षा सकेर बसेका स्कुले बालबालिका तथा फुर्सदिला अरुहरु पनि त्यहाँ फोटो, भिडियो खिचाउन, टिकटक बनाउन र घुमफिर गर्न जाने गर्छन् । सहरी सुविधामा रमाएका र आसपास झोलुंगेपुल नदेखेकाहरु बजार नजिकै झोलुंगेपुल बनेपछि उत्साहित देखिन्छन् ।
‘कहिलेकहीँ त पुलमै अटाइनसक्नु भीड हुन्छ’, स्थानीय अमृत भट्टराई भन्छन्, ‘आसपासका पनि आउँछन्, टाढा टाढादेखि, गोरखा बजारदेखि पनि आउँछन् ।’ पुलले गर्दा यस क्षेत्रको प्रचार प्रसार भएको भन्दै उनले खुशी व्यक्त गरे ।
पुलभन्दा करिब दुईसय मिटर माथि दुईलेनको कालोपत्रे सडक छ । कालोपत्रे सडकबाट पुल हुँदै हिलेखर्कसम्म कच्ची सडक निर्माण भएको छ । कालोपत्रे सडकको आडमा झोलुंगेपुल औचित्यहिन भएको त्यहाँका जीतबहादुर थापा बताउँछन् ।
पिचरोडमा झोलुंगे पुल के काम ? पुलबाट पारि जानु र रोडको बाटो जानु उस्तै भएपछि पुल तरेर को जान्छ र ? पानी नभएको खोलामा पुल बन्यो । यसको कसैलाई मतलबै छैन ।’ हिलेखर्कमा बर्षौदेखि पुल बनाउन गरिएको प्रयास असफल भइरहेकोमा उनले दुख व्यक्त गरे । ‘तल कति गाईबस्तु लडेर मरे । रोड त के, भारी बोकेर हिड्न मिल्ने गोरेटो बाटो पनि छैन । त्यस्तो ठाउँमा जति पहल गरे पनि अहिलेसम्म पुल बनाउन सकिएको छैन’, उनले भने, ‘यहाँ थाहा पत्तो नपाई कसरी पुल बन्यो थाहा छैन ।’ सो पुल फोटो खिचाउनेहरुलाई मात्र काम लाग्ने उनको भनाइ छ ।
गाउँमा पुल बनेकामा खुलेर बिरोध गरिहाल्ने आँट नगर्ने तर पुल बनाएर गरिब देशको ढुकुटीको दुरुपयोग भएकामा दुख लागेको स्थानीयबासी बताउँछन् । ‘हाम्रो नाम त नलेखिदिनुस् । फेरि फलानाले यस्तो भन्यो भन्लान् तर यो पुलको औचित्य छैन’, एक स्थानीयले भने, ‘जनताले लाभ लिने किसिमको भए पो हुने । केटाकेटीहरु झुम्मिने, टिकटक बनाउने मात्र हो । हामी यहीँको मान्छे हो, तर यो पुल तर्न त के कुरा, एकफेर हेर्न पनि गएका छैनौँ ।’ आवश्यकता भएको ठाउँका मान्छेले पुल नपाएका तर कालोपत्रे सडकको छेउमा पुल बनाएको भन्दै उनले बिरोध गरे ।
‘पुल त्यैँ छ, मोटरबाटो यहीँ छ त्यो पुलको के काम ?’, अर्का स्थानीय भन्छन्, ‘बरु धेरै तल ठूलो बस्ती छ, किसानहरु वारिपारि गर्नुपर्छ । फाँट पनि ठूलै छ, धान पराल ओसार्नुपर्छ । घाँसदाउरा गर्नुपर्छ । खासमा त्यहाँ पुल चाहिएको हो, माग गरेको पनि हो । चाहिने ठाउँमा पुल छैन, आवश्यकता पनि नभएको, माग पनि नभएको ठाउँमा स्थानीय कसैसंग पनि समन्वय र सम्बन्ध नगरी फटाफट पुल बन्यो । अचम्म छ ।’
अचम्म वडाअध्यक्षले पनि मानेका छन् । ‘पुल कहिले माग भयो, कहिले स्वीकृत भयो, ठेकेदार को हो, कति बजेटको हो केही थाहा छैन’, गोरखा नगरपालिका ४ का वडाअध्यक्ष लालप्रसाद भट्टराई भन्छन्, ‘ठेकेदारले एकफेर हामीले पुल बनाउँदैछौँ भनेर जानकारी दिन पनि आएन । आयोजना सम्बन्धी सूचना पाटी पनि राखेको छैन । हस्तान्तरण गर्ने हो कि होइन पनि थाहा छैन । बढि आवश्यक परेको ठाउँमा बनेन, कम आवश्यक भएको ठाउँमा बन्यो । म पनि अचम्ममा परेको छु । जे भए पनि हाम्रो वडामा एउटा पुल बन्यो, वडाको सम्पति हो, खुशी लागेको छ ।’ पुलको प्रयोग गर्न इच्छा लाग्नेहरुले पुलको प्रयोग गर्ने गरेको उनको भनाइ ।
धनबासे गाउँका एकजना पुल बिभागमा कार्यरत कर्मचारीको पहलमा सो पुल बनेको अर्का एक स्थानीयको भनाइ छ । ‘स्पष्ट रुपमा भन्नुपर्दा यहाँ पुल आवश्यक पनि होइन, ‘किन बनाएको’ भनेर बिरोध गरिहाल्नु पर्ने खालको पनि होइन’, उनले भने, ‘गाउँको एउटा मान्छे ठाउँमा भएका बेला आफ्नो गाउँमा केही गरुँ भनेर बनाएको होला । आक्कलझुक्कल कोहीकोही पुल तरेकै छन्, ठिकै छ ।’ कुन ठाउँमा बढि खाँचो परेको छ भनेर पहिचान गर्नुपर्नेमा नभएको उनको सुझाव छ ।




