
निषेधित क्षेत्रको व्यवस्था हटाउन सांसद बजगाईको जोड
गोरखा क्षेत्र नं. १ का सांसद राजेन्द्र बजगाईँले चुमनुब्री गाउँपालिकालाई निषेधित क्षेत्रमुक्त गराउनु पर्ने बताएका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा आयोजित चुम श्याग्या सताव्दी महोत्सव उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
विद्यमान निषेधित व्यवस्थाका कारण त्यहाँका सर्वसाधारण नागरिकले अत्याधिक सास्ती खेप्नु परेको भन्दै उनले सो व्यवस्था खारेज हुनुपर्नेमा जोड दिएका हुन् ।
निषेधित क्षेत्रको व्यवस्था हुँदा गम्भीर घाइते, सुत्केरी हुन नसकेर छटपटाएकी महिला तथा घाइते वा बिरामी परेका विदेशी पर्यटकलाई तत्काल उद्धार गर्न समेत कठिन हुँदा ज्यानै जाने अबस्था आएको भन्दै उनले यो व्यवस्थाको अन्त्य गर्न कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै बिगत चार बर्षदेखि चिनियाँ नाका बन्द हुँदा दैनिक उपभोग्य बस्तुको अभाव भएको भन्दै नाका खुलाउन पहल गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।







