
बारपाक सुलीकोट वडा नं. ६ कार्यालय कहाँ राख्ने भन्नेमा विवाद
बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ को वडा कार्यालय भवन हालका वडाअध्यक्षले साविकको कार्यालय भवन रहेको ठाउँबाट आफु अनुकुल नयाँ ठाउँमा सारेको आरोप लगाइएको छ । माइकोटस्थित पुरानो वडा कार्यालय भएको ठाउँमा कार्यालयकै नाममा डेढ रोपनी जग्गा र कार्यालय भवन हुँदाहुँदै नयाँ ठाउँमा निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको आरोप अधिकांशको छ ।
‘पुरानो ठाउँमा पुरानो भवन पनि छ । नयाँ भवन निर्माण गर्न चाहेमा पर्याप्त जग्गा पनि छ । अझै जग्गा चाहिएमा निशुल्क दिनका लागि स्थानीयबासी तयार पनि छन्’, स्थानीय शम्भु सुवेदी भन्छन्, ‘तर अहिलेका वडा अध्यक्षले आफु अनुकुल नयाँ ठाउँमा घरभाडामा लिएर कार्यालय चलाउनु भएको छ । राज्यको ढुकुटीको पैसा खर्च गरिरहनु भएको छ ।’ गाउँ पञ्चायतको संरचना हुँदादेखि नै कार्यालय रहेको ठाउँ छाडेर नयाँ ठाउँमा सार्नु मनासिब नभएको उनको भनाइ छ ।
‘गाउँ पञ्चायत र गाविसको संरचना हुँदादेखि नै कार्यालय यहाँ माइकोटमा चलेको थियो’, उनी भन्छन्, ‘तर पछि वडा अध्यक्षज्यूले आफुअनुकुल वडा कार्यालय भवन पाल्खु बजारमा सार्नुभयो । त्यहाँ वडाको कार्यालय भाडाको घरमा बसेर काम गरिरहेको छ । माइकोटमा वडा कार्यालय चलाएको भए राज्यको ढुकुटीबाट खर्च गरेर भाडा तिर्नु जरुरी थिएन ।’ माइकोटबाट वडा कार्यालय सरेको पनि ५÷६ वर्ष भन्दा बढी भइसकेको उनले बताए । अहिले पुरानो स्थान माइकोटमा पुरानो जस्ता छाएको एउटा सानो घर मात्र रहेको र त्यो पनि संरक्षण नहुदा जीर्ण बन्दै गएको छ ।
‘माइकोटमा वडा कार्यालय भवनका बनाउनका लागि डेढ रोपनी जग्गा छ । त्यो पनि पुगेन भने माइकोट समाजले ६ रोपनी जग्गा निशुल्क दिन तयार भएका थिए तर अध्यक्षले त्यो पनि इन्कार गर्नुभयो’, उनले भने । आवश्यक जग्गा विद्यालयले पनि दिन तयार भएको तर आफनो राजनीतिक स्वार्थ पूर्तिका लागि वडा कार्यालय भवन तल सारेको उनको आरोप छ । वडा कार्यालयको भवन निर्माणका लागि आफ्नै जग्गा हुदाहुदै पनि राज्यलाई बढी व्ययभार पर्ने गरी अन्तै जग्गा खोजेर वडा कार्यालय भवन निर्माण गर्न ठिक नभएको उनले बताए । वडा कार्यालयसँगै माइकोटमा भएको प्रहरी चौकीको भवनमा पनि सारेर लगेको उनले बताए । प्रहरीको आफनै जग्गा र भवन हुँदाहुँदै अन्तै सारेर लगेको उनको आरोप छ ।
वडा नं ६ का वडा अध्यक्ष बाबुलाल गुरुङले भने आफु २०७४ सालमा निर्वाचित भएको केहि समयसम्म मात्र माइकोटबाट सेवा प्रवाह गरेर पछि गाउँपालिकासँगै भाडाको घरमा बसेर वडाको सेवा प्रवाह गरेको बताए ।
वडा कार्यालय निर्माणका लागि पर्याप्त जग्गा नभएको र विद्यालय भवनमा पनि मन्दिरको जग्गामा निर्माण भएको बताउँदै जनताको सेवा प्रवाहमा सहयोग पु¥याउन उद्देश्यले पालिकासँगै वडाको सेवा पाल्खुबाट संचालन गरेको उनले बताए । ‘०७४ सालमा हामी निर्वाचित भयौ । त्यसबेला गाउँपालिकामा पर्याप्त कर्मचारी नभएकाले पालिका जहाँ छ, त्यहीबाट नै वडाको सेवा दिने भनेर भाडामा रहेको पालिकासँगै राखेर वडाबाट सेवा दियौँ’, उनले भने, ‘पछि पालिका आफनै नयाँ भवनमा स¥यो तर हामी त्यहि घरमा भाडा तिरेर बस्यौँ । अव चाहि वडा कार्यालयको नयाँ भवन बनाउनुप¥यो भनेर लागेका छौँ ।’ वडा कार्यालय भाडा तिरेर बस्नुपर्दा धेरै खर्च हुने भएकाले आफनौ नयाँ भवन बनाउन लागेको अध्यक्ष गुरुङले बताए ।
वडा कार्यालयको भवन निर्माण गर्नका लागि विगतमा पनि वडाबासीहरुसँग पटक पटक भेला र वार्ता भएको उनले बताए । मोहोरिया र पाल्खु कहाँ राख्ने भनेर धेरै छलफल भएको र २०७९ साल कार्तिक ९ गतेको वडाबासीको भेलाले वडा कार्यालय पाल्खुमा राख्ने निर्णय गरेको उनले जानकारी दिए । पाल्खुमा हाल स्थानीयहरुबाट २२ आना जमिन निशुल्कमा उपलब्ध गराएको र आवश्यक परेमा थप केहि जग्गा निशुल्क दिने प्रतिबद्धता आएको वडा अध्यक्ष गुरुङले बताए ।
हाल पाल्खुमा वडा कार्यालय भवन निर्माणका लागि सर्भे भइरहेको र छिट्टै भवन निर्माण कार्य सुरु गर्ने उनले बताए । वडा कार्यालय भवन निर्माणका लागि पालिकाबाट २० लाख बजेट विनियोजन भएको छ । अवको डेढ वर्ष भित्रमा वडा कार्यालय भवन निर्माण सम्पन्न गराउने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए । पाल्खुमै दुई वटा कोठाका लागि मासिक ६ हजार तिरेर वडा कार्यालय सेवा संचालन गर्दै आएका छन् । वडा कार्यालय भाडाको घरबाट संचालन भएको पनि करिब ६ वर्ष भन्दा धेरै भएको उनले बताए । पाल्खुमा जनघनत्व धेरै रहेको र वडाका सबै तिरका मानिसहरु पाल्खुमै भेट हुने भएकाले वडा कार्यालयका लागि उपयुक्त स्थान भएको उनले दावी छ ।




