| बुधबार, कार्तिक २५, २०८३

गोरखाका ३३ भन्दा धेरै वडाहरु वडा सचिवबिहिन

तीन महिनाअघि धार्चे गाउँपालिका ६ को वडा सचिवमा तुल सलामी नियुक्ति लिएर आए । दुई महिना नबित्दै उनले अधिकृतमा नाम निकाले र वडा सचिव पद खालि गराएर गए ।

त्यसपछि गाउँपालिकाले काशिगाउँ स्वास्थ्य चौकीमा कार्यरत अहेब सुजिता यादबलाई वडा सचिवको जिम्मेवारी सुम्पियो । बिगत एक महिनादेखि उनी यहाँकी वडा सचिव र अहेबको कार्यभार सम्हाल्दै आएकी छिन् ।

वडा नं. ६ मा मात्र होइन, धार्चेका सबै वडामा प्राविधिक कर्मचारीले वडा सचिवको काम गर्दै आएका छन् । ‘हाम्रो पालिकाको कुनै पनि वडामा अहिले वडा सचिव छैनन्’, प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनार भन्छन्, ‘कुनै वडामा अहेब, कुनै वडामा सब ओभरसियर, कुनैमा कृषि शाखा र कुनैमा पशुसेवा शाखाका कर्मचारीले सचिवको काम गरिरहनुभएको छ ।’

वडा नं. १ मा सबइञ्जिनियर सन्तोषकुमार यादवले वडा सचिवको काम गरिरहेका छन् भने वडा नं. २ मा हेल्थअसिस्टेण्ट कविता घले वडा सचिव छिन् । वडा नं. ३ मा अनमि मेनुका राई, वडा नं. ४ मा सिनियर अहेब धनबहादुर गुरुङ, ५ मा सिअहेब सपनाकुमार घिमिरे र वडा नं. ७ मा अहेब जीतबहादुर सुनाले एकबर्षदेखि वडा सचिवको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिए ।

पञ्जिकरणको कामसमेत गर्नुपर्ने हुँदा स्थायी कर्मचारीलाई मात्र वडा सचिवको कार्यभार जिम्मा दिनुपर्ने सरकारी प्रावधान छ तर गोरखा नगरपालिकाको दुईवटा वडामा करारमा नियुक्त भएका कर्मचारीले वडा सचिवको काम गरिरहेका छन् । वडा नं. कम्प्यूटर अपरेटरमा करारमा नियुक्त भएका भुवन कुमाल र वडा नं. ११ मा सरसफाइ सुपरभाइजरमा करारमा नियुक्त भएका प्रेमबहादुर बस्नेतलाई वडा सचिवको जिम्मेवारी सुम्पिएको नगरपालिका कार्यालयले जनाएको छ ।

त्यस्तै वडा नं. ५ मा पनि महिला तथा बालबालिका शाखाकी स्थायी कर्मचारी इन्दिरा अम्गाईलले वडा सचिवको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

त्यस्तै सुगम भनिएको पालुङटार नगरपालिकाको १० वटा वडामध्य पाँचवटा वडाहरु वडासचिवबिहिन छन् । ‘वडा नं. १ मा स्वास्थ्य सहायक कर्मचारी प्रवीण श्रेष्ठले वडासचिवको काम गरिरहनु भएको छ । २ मा पनि स्वास्थ्यकै कर्मचारी राधा देवकोटाले वडा सचिवको काम गरिरहनु भएको छ’, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी भन्छन्, ‘वडा नं. ६ मा महिला तथा बालबालिका शाखाकी नानु सुनार, वडा नं. ७ मा स्वास्थ्यका कर्मचारी लक्ष्मण सुनार र वडा नं. १० मा पनि स्वास्थ्यकै कर्मचारी कालिका चौलागाईले वडा सचिवको काम गरिरहनु भएको छ ।’ सीप, क्षमता, दक्षता र विज्ञता एउटा क्षेत्रमा, काम अर्को क्षेत्रमा गर्नुपर्दा समस्या भएको उनको भनाइ छ ।

आठवटा वडा रहेको सिरानचोक र भीमसेनथापा गाउँपालिकाका पाँच–पाँच वटा वडामा वडासचिव छैनन् । ‘वडा नं. १ मा अतिरिक्त सव इञ्जिनियर टेकबहादुर कार्की, वडा नं. २ मा भेटनरीकी रीता थापा र वडा नं. ४ मा पनि भेटनरी शाखाकै ज्ञानुप्रसाद यादबले वडा सचिवको काम गरिरहनु भएको छ’, प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले भने, ‘वडा नं. ६ मा अतिरिक्त सव इञ्जिनियर राजकुमार यादव र वडा नं. ७ मा स्वास्थ्य सहायक विश्वनाथ पाण्डेले वडा सचिवको काम गरिरहनु भएको छ ।’

त्यस्तै भीमसेनथापा गाउँपालिकाका वडा नं. २ मा पशुसेवाका कर्मचारी खेपराज भट्ट, वडा नं. ४ मा पशुसेवा प्राविधिक केशव थापा, वडा नं. ५ मा कृषि शाखाकी सुष्मा केशीले वडा सचिवको जिम्मेवारी सम्हालिरहेकी छिन् । वडा नं. २ र ६ मा एकैजना वडा सचिव र वडा नं. ७ र ८ मा पनि एकैजना वडा सचिवले मात्र काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए ।

त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाको वडा नं. ६ मा आन्तरिक लेखा परीक्षक दर्शन न्यौपाने र वडा नं. ५ मा अतिरिक्त सब इञ्जिनियर अञ्जु थापाले वडा सचिवको काम गरिरहेका छन् भने वडा नं. १ र २ मा जितकुमारी घले एकैजनाले मात्र सचिवको जिम्मेवारी सम्हालेकी छिन् । चुमनुब्री गाउँपालिकाका सातवटा वडामध्य ३ वटा वडामा वडा सचिव छैनन् ।

एउटै सचिवले दुईवटा वडा र पालिकाअन्तर्गतका विभिन्न शाखाहरु समेत सम्हाल्नु परेको प्रमुख कार्यकारी अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा नं. १ र ५ को वडा सचिवको काम गणेशभक्त त्रिपाठीले सम्हालेका छन् ।

उनी गाउँपालिकाको प्रशासन शाखाको कर्मचारी पनि हुन् । वडा नं. २ र ४ को वडा सचिवको रुपमा वेदप्रकाश ढकाल कार्यरत छन् । उनी योजना शाखाका कर्मचारी हुन् । वडा नं. ६ र ७ को वडा सचिवका रुपमा वासुदेव वली खटिएका छन् । उनी शिक्षा शाखा प्रमुख पनि हुन् । अजीरकोट गाउँपालिकाको पनि वडा नं. १ को सचिवको काम सब ओभरसियर धनबहादुर गुरुङले गरिरहेका छन् ।

‘कर्मचारी अभावले असाध्यै दुख भएको छ’, श्रेष्ठले भने, ‘लोकसेवामा कर्मचारी माग गरेर पठायो, कर्मचारी आउँदैनन् । खरिदार, नासु पदमा नाम निकालेर आएका हुन्छन् । अनि अधिकृतमा पनि नाम निकाल्छन् र गइहाल्छन् ।’ आफ्नो शाखाको पनि काम गर्नुपर्ने, वडा कार्यालयको पनि काम गर्नुपर्दा समस्या हुने गरेको पालिकाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्