
चुमनुब्रीको एक्स्काभेटर सात महिनादेखि सदरमुकाममा थन्कियो
चीन सरकारले चुमनुब्री गाउँपालिकाका लागि उपलब्ध गरेको एक्स्काभेटर सात महिनादेखि गोरखा सदरमुकाममा थन्किएको छ । चीन सरकारले सीमा क्षेत्रमा रहेको १४ वटा हिमाली पालिकालाई गत असोज महिनामा एक्स्काभेटर(डोजर) सहयोग गरेको थियो । तर उक्त एक्स्काभेटर अहिले जिल्ला समन्वय समितिको कार्यालय अघि खुल्ला चौरमा खिया लाग्न थालेको छ ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने वैशाख दोस्रो हप्तामा पालिकामा लैजान तयारी भइरहेको बताए । ‘बाटोको समस्या भएर हामीले त्यहीँ राखेका हौँ । अव चाहि छिट्टै लैजाने छौँ’, उनले भने, ‘अहिलेलाई चुमनुब्री गाउँपालिकाको सदरमुकाम सम्म ल्याउछाँै । जगतसम्म ल्याउन सक्ने सम्भावना छ ।’
सो एक्स्काभेटर पालिकाभित्रका विभिन्न योजनाहरु सम्पन्न गर्नमा प्रयोग गरिने उनले बताए । ‘एक्स्काभेटर संचालनका लागि पालिकाले एउटा कार्यदल वनाएर संचालन समिति गठन गर्नेछ, र त्यसको कार्यविधि वनाएर संचालनमा ल्याउछौ ।’, उनले भने । कार्यदल गठनका लागि पालिकाबाट निर्णय भइसकेको पनि उनले जानकारी दिए । पारदर्शी ढंगले संचालन गर्नका लागि पालिकाले नै कार्यदल वनाएर संचालन गरिने उनको भनाइ छ ।
गोरखा सदरमुकामको जिल्ला समन्वय समितिको भवन अगाडि सात महिनादेखि थन्किएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा ल्याइएको थियो । दुर्गमको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार गर्न उक्त डोजर हस्तान्तरण गरिएको हो ।
संचालन व्यवस्थापनको योजना वनाएर एक्स्काभेटर प्रयोगमा ल्याउने चुमनुव्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए । उक्त एक्स्काभेटर सडक सञ्जाल विस्तारमा प्रयोग गर्ने गाउँपालिकाको योजना छ ।
चीनको तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशक र नेपाली महावाणिज्य दुतावास बीच २०७६ सालमा भएको वैठकमा सिमामा रहेको १४ वटा हिमाली जिल्लामा एक÷एक पालिकालाई एक्स्काभेटर दिने निर्णय भएको थियो ।
चीनको तिब्बत सरकारले सहायता सामग्री प्रदान गर्ने कार्यक्रमअन्तर्गत २०७६ सालमै ती डोजरहरु दिन लागेको थियो । तर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्षेत्रमा सहयोग केन्द्रित गर्नुपर्ने भन्दै डोजर सहयोग रोकेको थियो । कोरोना भाइरस नियन्त्रणमा आएपछि २०७९ असोजमा नेपालका १४ वटा पालिकालाई डोजर प्राप्त भएको हो ।
चीनको तिब्बत सरकारले गोरखाको चुमनुब्री गाउँपालिका सहित ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका, दोलखाको बिगु गाउँपालिका, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, धादिङको रुविभ्याली गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिकालाई सडक निर्माणको लागि डोजर सहयोग गरेको हो ।
यस्तै, मुस्ताङको लोमन्थाङ गाउँपालिका, बझाङको तालकोट गाउँपालिका, डोल्पाको से फोक्सुण्डो गाउँपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका र दार्चुलाको मार्मा गाउँपालिकामा सडक निर्माणका लागि डोजर प्रदान गरेको हो ।




