
गोरखा नगरपालिकामा खानेपानी बोर्ड गठनको बिधेयक नगरसभामा छलफल भएन
गोरखा नगरपालिकाको खानेपानी समस्या हल गर्न भन्दै नगरपालिकाले खानेपानी बोर्ड गठन गर्ने योजनाले ११ औँ नगरसभामा पेश गरेको बिधेयकमाथि छलफल हुन सकेन । गोरखा नगरपालिका खानेपानी तथा सरसफाईका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक ऐन २०८० छलफल नै नभई रोकिएको हो ।
नगरसभामा पेश गर्ने गरी सदस्यहरु र सहभागीको हातहातमा बिधेयक पुगिसकेको थियो । नगरप्रमुख कृष्णबहादुर रानाले हलभित्र प्रवेश गरेलगत्तै खानेपानी तथा सरसफाई सम्बन्धी विधेयकको प्रस्ताब नगरसभाको विषयसूचीबाट हटाएको जानकारी गराए । नगरसभा सदस्यलाई १५ दिनअघि मस्यौदा नदिएको कारण देखाएर गोरखा नगरपालिकाले उक्त विधेयक सभामा पेश गरेन ।
दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि यसअघि पानी बितरण गर्दै आएका संस्था र दरौँदी लिफ्टिङ बीच अन्तरद्वन्द्व चर्किरहेको र उपभोक्ताले पर्याप्त पानी नपाएको अबस्थालाई मध्यनजर गरी खानेपानी बोर्ड गठनको विषय अघि बढेको थियो । खानेपानी संस्थाहरुले शुद्ध र नियमित पानी उपभोक्तालाई दिइरहेका छैनन् । दरौँदी लिफ्टिङले आफ्नो पानी उपभोक्ता संस्थाले खरिद नगरेको बताउँदै आएको छ । यी संस्था बीचको जुहारीले दरौँदी लिफ्टिङको ट्याङ्कीमा पानी हुने तर सर्वसाधारणले नपाउने समस्या गोरखा बजारमा छ । तर सानासहरी लगायतका खानेपानी प्रदायक संस्थाले भने दरौँदी लिफ्टिङले आवश्यक पानी आपूर्ति गर्न नसक्ने जनाएको छ ।
यो समस्या हल गर्ने योजनासहित प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको पहलमा खानेपानी बोर्ड गठन प्रक्रिया अघि बढेको थियो । नगरपालिका, खानेपानी समितिहरुलाई बारम्बार एकै ठाउँमा राख्ने पहल गरेका प्रमुख जिल्ला अधिकारीले बोर्ड गठन भए अहिले भन्दा सस्तोमा, शुद्ध पानी गोरखाबासीले उपभोग गर्न पाउने बताएका छन् ।
खानेपानी समितिमा रहेका नेतृत्वले नगरपालिकाका जनप्रतिनिधिलाई आफु अनुकुल राजनीतिक आडमा प्रभावित बनाएर बिधेयक रोक्ने प्रयास गरिरहेको स्रोतको दावी छ । नगरसभा सदस्यहरु बीच नै मतभेद हुँदा बिधेयक पारित हुन नसकेको एक सदस्यले बताए । बिधेयक अर्को नगरसभामा प्रस्तुत हुने भन्दै बिहिवारको ११ औँ नगरसभाको सूचीबाट हटाइएको हो । अर्को नगरसभा २०८० असारमा हुनेछ । अहिले देखिएको खानेपानी समस्या अझै महिनौँसम्म ज्यूँकात्यूँ हुने भएको छ ।




