| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकाद्वारा दुईसय भन्दाबढि योजनाको रकमान्तर

गोरखा नगरपालिकाले दुईसयभन्दा बढि योजनाको रकमान्तर गरेको छ । बिहिवारको ११ औँ नगरसभामार्फत नगरपालिकाले आन्तरिक आम्दानी घटेको भन्दै रकमान्तर मात्रै होईन शाखागत योजना कटौतीसमेत गरेको छ ।

नगरप्रमुख कृष्णबहादुर रानाले यसअघि बिभिन्न समयमा निर्णय भएका नगरस्तरीय एकसय भन्दाबढि, वडागत ६० भन्दाबढि र शाखागत ४५ योजनामा रकमान्तर गरेका छन् । कार्यान्वयन हुन नसकेका, केहीमा बजेट अभाव देखाउँदै रकमान्तर भएका योजना तीन महिनामा सक्ने तयारी नगरपालिकाको छ । वडा स्तरका ६० भन्दाबढि योजनामा रकमान्तर भएको छ । खरिद गर्ने, बितरण गर्ने र छोटो समयमा काम सक्ने खालका योजना वडा र नगरबाट प्रस्ताव गरी परिर्वतन भएका छन् ।

शाखागत योजना ४५ वटाबाट घटेर १५ वटामा सिमित गरिएको छ । दलित उत्थान कार्यक्रम, पोषणा कार्यक्रम, बालभेला, हिंसापिडित महिलालाई आपत्कालिन उद्धार कार्यक्रम, होमस्टे प्रर्वद्धन कार्यक्रम, अति बिपन्नकालागि स्वास्थ्य बिमा कार्यक्रम, बिपद् ब्यवस्थापन जस्ता योजनामा रकमान्तर भएको छ । कृषि हाटबजार संचालन र ब्यवस्थापन, आकस्मिक कृषिसेवा टेवा कार्यक्रम, सेवा र परामर्श, संचार महशुल लगायतमा नगरपालिकाले रकमान्तर गरेको छ ।

११ औँ नगरसभाले काम सुरु नभएको, लगत स्टमेट नभएको भन्दै वडागत योजना पनि परिर्वतन गरेको छ । ठुटेबजार ताल निर्माण अन्तरगत रहेको एक करोड रुपैयाँ पनि रकमान्तर गरिएको छ ।

नगरसभाले शाखागत तथा नगरस्तरीय गरी एककरोड ३० लाख रुपैयाँ कटौती गरेको छ । कतिपय भने रकमान्तर भएर नयाँ योजना छानिएका छन् ।

सभामा उपप्रमुख मसलीमाया थोकरले बिनियोजन ऐन २०७९ को पहिलो संशोधन प्रस्तुत गरेकी थिईन् । यस्तै उनले आर्थिक ऐन २०७९ को पहिलो संशोधन पनि प्रस्तुत गरिन् । नगरपालिकाको आर्थिक ऐन २०७९ को पहिलो संशोधनबाट निकासी करको पुरानो दररेट शिर्षक हटाई वातावरण शुल्कको शीर्षक र दररेट थप गरेर पारित गरिएको छ । बन पैदावार, दाउरा, बाँस, ढुङ्गा गिटी, बालुवा, माटो, ब्लक, प्लास्टिकजन्य पदार्थ, सिसी, छाला लगायतमा पनि नगरपालिकाले कर निर्धारण गरेको छ ।

नगरपालिकाले हालसम्म चालु खर्च ४७ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्