| बुधबार, कार्तिक २५, २०८३

गोरखाबाट फर्केलगत्तै लामा थुव्तेन जोपा रिन्पोछेको निधन

महायान परम्पराको संरक्षणका लागि अन्तर्राष्ट्रिय बौद्ध समुदाय फाउन्डेसन (एफपीएमटी) स्थापनाका लागि प्रसिद्ध, लामा थुब्तेन जोपा रिन्पोछेको निधन भएको छ । काठमाडौँस्थित कपन गुम्बाका प्रमुख ७९ बर्षका रिम्पोछेको बिहिबार बिहान साँढे नौ बजे निधन भएको हो ।

उनी चुम उपत्यकामा वैशाख ६ गतेबाट आयोजना हुने चुम स्याग्या सताव्दी महोत्सवका लागि छेकम्पारस्थित राजेन गुम्बामा पुगेका थिए । गोरखाको चुम उपत्यकाबाट बिरामी भएर बिहिबार बिहान फर्केलगत्तै काठमाडौँमा निधन भएको हो ।
उनी बुधबारदेखि हाइअल्टिच्युडको बिरामी भएका थिए । उद्धारका लागि समयमै हेलिकोप्टर उपलब्ध हुन नसक्दा ढिला गरी बिहिबार बिहान मात्र काठमाडौँ ल्याइएको थियो ।

चुम उपत्यकाको राजेन गुम्बाको स्थापना र सञ्चालन उनले नै गरेका थिए भने काठमाडौँस्थित चुम कल्याण समितिको भवन निर्माणमा आर्थिकलगायत विभिन्न क्षेत्रमा अतुलनीय योगदान गरेका थिए ।

लामा जोपा रिन्पोछेको जन्म सन् १९४५ मा थाङ्मेको सगरमाथा क्षेत्रमा भएको थियो । उनलाई तीन वर्षको उमेरमा शेर्पा न्यङ्मा योगी कुनसाङ येशे, लउडो लामाको अवतारका रूपमा लिइएको थियो । रिन्पोछे बोधचित्तको अवतार थिए, र सधैं नश्वरताको सम्झनाको महत्वमा जोड दिने गर्दथे ।

१० वर्षको उमेरमा उनी तिब्बत गएका, दक्षिणी तिब्बतमा उनले डोमो गेशे रिन्पोछेको गुम्बामा अध्ययन र ध्यान गरेका र सन् १९५९ मा भुटानमा सुरक्षा खोज्न बाध्य भए ।

उनी पछि भारतको पश्चिम बंगालमा शरणार्र्थीको रूपमा यात्रा गरे, जहाँ उनले पहिलो पटक लामा येशेलाई भेटे, जो उनको सबैभन्दा नजिकको शिक्षक बन्ने थिए । दुई लामाहरू १९६७ मा नेपाल आएर उनीहरूले कोपन र लाउडो गुम्बाहरू स्थापना गरे ।

लामा जोपा रिन्पोछेले १९७५ मा लामा थुब्तेन येशेसँग मिलेर नेपालमा अन्तर्राष्ट्रिय बौद्ध समुदाय फाउन्डेसन(एफपीएमटी) स्थापना गरे र पश्चिमा विद्यार्र्थीहरूलाई बौद्ध धर्म सिकाउन थालेका थिए ।

पछिल्ला वर्षहरूमा एफपीएमटिले ३७ देशहरूमा वौद्ध धर्मसंग सम्बन्धित धार्मिक केन्द्रहरू, परियोजनाहरू र गतिविधिहरूको सञ्चालन गरेको थियो । सन् १९८४ मा लामा येशेको निधनपछि लामा जोपा रिन्पोछेले एफपीएमटीको आध्यात्मिक निर्देशकको रूपमा काम गरेका थिए ।

रिन्पोछे एक प्रसिद्ध लेखकसमेत थिए । उनले धेरै धार्मिक ग्रन्थहरु प्रकाशन गरेका छन् । मृत्युको आनन्द कसरी लिने, डरबिना जीवनको अन्तिम चुनौती सामना गर्ने तयारी, द फोर नोबल ट्रुथ ए गाइड टु डेली लाइफ, बोधिचित्त, अर्थपूर्ण जीवनको लागि अभ्यास प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्