| बुधबार, कार्तिक २५, २०८३

म्याद सकिएको अखाद्य बस्तु भए नष्ट गर्न गोरखा प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय गोरखाले विभिन्न पसल तथा स्टोरहरुमा भण्डारण गरिएका म्याद सकिएका अखाद्य बस्तुहरु नष्ट गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालयले विहिबार एक सूचना जारी गर्दै विभिन्न पसलहरुमा अखाद्य बस्तु भेटिएकाले समयमै नष्ट गर्न निर्देशन दिएको हो ।

‘बजार अनुगमनका क्रममा जिल्ला भित्रका विभिन्न खाद्य पसल तथा स्टोरहरुमा म्याद सकिएको तथा अखाद्य वस्तुहरु भेटिएको र त्यस्ता वस्तुहरु नष्ट गरिसकिएको अवस्था जानकारी गराउदै अन्य कुनै स्टोर तथा पसलहरुमा त्यस्ता म्याद सकिएको तथा अखाद्य वस्तुहरु भएको भए तुरुन्त नष्ट गर्नुपर्ने’ प्रशासनका प्रशासकीय अधिकृत छविलाल श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ ।

साथै वस्तु तथा सेवाको उपभोग गर्दा वस्तुहरुको गुणस्तर, म्याद र मूल्यसूची समेतलाई ध्यान राखी सामान विक्री वितरण गर्नु सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

सर्वसाधारणको हित विपरीत कुनै पनि गैरकानूनी तथा अवाञ्छित क्रियाकलापहरु भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत गोरखा प्रशासनले जनाएको छ ।

यदि कसैले म्याद सकिएको तथा अखाद्य बस्तुहरु विक्री वितरण गरिरहेको थाहा पाएमा यथाशीघ्र प्रहरी कन्ट्रोल नं. १०० वा ९८५६०९०२५५ मा खवर गर्नुहुन समेत अनुरोध गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्