| बुधबार, कार्तिक २५, २०८३

व्यवस्थापनको पर्खाइमा ह्यारीहिल

बेलायतका तत्कालीन राजकुमार ह्यारी २०७२ सालको चैत ११ गते लापुवेशीको प्रभातकिरण माविमा आए । टिम रुविकनको समन्वयमा उनीसहित १२ जनाको टिमले त्यहाँ चैत १६ गतेसम्म विद्यालयको भवन निर्माणका लागि श्रमदान ग¥यो । राजकुमार ह्यारीले पनि अरु कामदार सरह भूकम्पले ध्वस्त भएको विद्यालयको पुरानो भवन भत्काउने, ढुङ्गा, काठ बोक्ने, जग खन्ने जस्ता काम गरेर राजकुमार ह्यारीले सबैलाई चकित बनाए । ६ दिनसम्म श्रमदान गरेपछि जब भवनको डिपिसी तयार भयो, त्यसपछि ह्यारीको टोली बेलायत फर्किएको थियो ।

उनको मायाले स्थानीयबासी पुलकित भए । स्थानीय सरकार पनि कृतज्ञ भयो । बेलायती राजकुमारसंगको सम्बन्ध अजर–अमर रहोस् र भावी पुस्ताहरुले पनि उनको स्मरण गरुन् भन्ने उद्देश्यले धार्चे गाउँपालिकाकाले सो विद्यालयसंगै उभिएको डम्बुडाँडालाई ह्यारीहिल नाम दियो ।

सो ह्यारी हिललाई पर्यटकीय स्थल बनाउने, बेलायती वा युरोपेली पर्यटकलाई धेरैभन्दा धेरै आउने वातावरण बनाउने लक्ष्य राखेर गाउँपालिकाले ह्यारी हिलमा पर्यटकीय पूर्वाधार बनाउन सुरु ग¥यो । प्रभातकिरण माविको आँगनदेखि ह्यारीहिलको टुप्पोसम्म पुग्नेगरी ११८ वटा रेलिङसहितको सिँडी निर्माण ग¥यो । हिलको टुप्पामा प्रतिक्षालय, खानेपानीको धारा निर्माण ग¥यो । सडक छेउमा ह्यारीहिलमा स्वागत छ भन्ने साइनबोर्ड पनि स्थापना ग¥यो तर त्यहाँ अपेक्षा गरेअनुसार पर्यटक भित्रिएनन् ।

‘पहिला–पहिला त अब यहाँ विदेशी पर्यटक आउलान्, ह्यारी हिल पुरै विदेशी पर्यटकले भरिएलान् भन्ने सबैले सोचेका थियौँ’, स्थानीय आयुषा गुरुङले भनिन्, ‘तर कोही पनि विदेशी आउँदैनन् । मैले थाहा पाएसम्म जम्मा एकफेर पालुङ्टारका टोली पिकनिक आएका थिए । त्यत्ति हो ।’ विशेषगरी पर्यटक मोटरबाट सिधै माछाखोलासम्म जाने भएकाले यो क्षेत्र पछाडि परेको उनको तर्क छ । ‘यो साइनबोर्डलाई अल्लि ठूलो, अल्लि आकर्षक बनाएर राखेको भए गाडीमै आएका पर्यटक पनि झरेर हेर्न जान्थे कि ?’ उनी भन्छिन्, ‘एकफेर बनाएको साइनबोर्ड खुइलिएर गयो । जतन छैन, अक्षर पनि मेटिएर गयो ।’

गाउँपालिकाले केही व्यवस्थापन गर्छ कि भन्ने आशा गर्दागर्दै बर्ष बितिरहेको प्रभातकिरण माविका प्रधानाध्यापक जीव गुरुङ बताउँछन् । ‘अघिल्लो गाउँपालिकाका अध्यक्षले बरु अलिअलि बजेट छुट्याएर काम सुरु गरेका थिए’, गुरुङ भन्छन्, ‘अहिले त बजेटै बिनियोजन गरेनन् । हामीले पटक पटक सम्झाउँदा पनि वास्ता गरेनन् ।’

आफ्नो पालिकाभित्रको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गर्ने र प्रचारप्रसार गर्ने काम पालिका सरकारले गर्नुपर्छ भन्ने मनन गरी पूर्वाधार निर्माणको सुरुवात गरिएको भन्दै निवर्तमान गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका वर्तमान अध्यक्ष लक्ष्मण गुरुङले भने यसबर्ष कार्यक्रम बनाउँदा छुटेको बताए । ‘यसबर्ष सम्बोधन गर्न सकिएन, अब अर्को बर्ष कार्यक्रम पारुँला भन्ने सोचेको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्