
पानपाको सार्वजनीक सुनुवाई : पालिकाको कामकाज र जनप्रतिनिधीको कार्यशैलीप्रति जनताको चासो
गोरखाको पालुङटार नगरपालिकाले मंगलवार सार्वजनीक सुनुवाई कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले पालिकाले गरेका कामकाज र जनप्रतिनिधीको कार्यशैलीका बारेमा सुझाब र प्रश्न राखेका थिए ।
पालिकाले संचालन गरेका योजनामा बजेट कम भएको, अनुगमन प्रभावकारी नभएको, उपभोक्ता समितिबाट काम भएका योजना कार्यन्वयनमा लगानी गर्ने बजेट अभाव भएको गुनासो स्थानीयको छ । ‘उदारोमा काम गर्न उपभोक्ता समितिलाई समस्या भयो’ वडा नम्बर ६ का दिनेश थापाले भने ‘समितिलाईपनि अग्रिम भुक्तानी दिनुपर्ने ब्यवस्था गर्नुप¥यो ।’
स्थानीय हरि अधिकारीले ठुला योजनाको पालिकाले अनुगमन गरेर छिटो काम सक्नुपर्ने बताए । सडकको लगतकट्टा नहुँदा तिरो तिरिरहेको भन्दै उनले उक्त समस्या हल गर्न अनुरोध गरे । सार्वजनीक जग्गा अतिक्रमण बढेको विषयमापनि सार्वजनीक सुनुवाईमा सहभागीले प्रश्न गरेका थिए ।
वडा नम्बर ६ का अध्यक्ष चेत बहादुर गुरुङ वडा कार्यालयमा पटक–पटक जाँदा नभेटिएको स्थानीय बुद्धीमान तामाङले गुनासो गरे । स्थानीय पुननारायण श्रेष्ठले बाढीपहिरोले क्षती पुगेका ठाउँमा भन्दा टाठाबाठाले जाली धेरै लगेको तर सदुपयोग नगरेकाले अनुगमन गर्नुपर्ने बताए ।

सहभागीको गुनासो सुनेपछि नगरप्रमुख बिबस चिन्तनले सकेसम्म फोन धेरै उठाउने प्रयत्न गर्दागर्दै बैठकहरु, बिभिन्न कार्यक्रममा सहभागी हुँदा मात्रै नउठेको हुन सक्ने बताए । बिकास निर्माण र योजनाका काममा नगरपालिकाले सबैलाई समान दृष्टिकोणले हेरेको बताउँदै उनले बजेट अभावले सबैठाउँमा समान रुपमा काम हुन नसकेको स्विकार गरे । नगरपालिकाले जग्गाको बर्गिकरण अन्तिम चरणमा पु¥याएको, योजनाहरु वडा मार्फत कार्यन्वयन गरेर अनुगमन पनि गरिरहेको उनले बताए ।
पालुङटार नगरपालिकाले चालु वर्ष ४० प्रतिशत बजेट खर्च गरिसकेको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले बताए । चालु तर्फ करिब ४९ र पुँजीगत तर्फ २६ प्रतिशत बजेट खर्च भएको छ । सबैभन्दा धेरै वडा नम्बर ८ ले पुँजिगत खर्च ५५ प्रतिशत गरेको छ ।
नगरपालिकाले चालु वर्ष संचालन गर्ने योजना मध्ये तीन सय ८ वटा सम्झौता भईसकेको छ भने एक सय ६० वटा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । सम्झौता भएका योजनाको ८० प्रतिशत प्रगती रहेको छ । चालु वर्ष ठेक्का तर्फको २२ वटा योजना मध्ये चारवटा भुक्तानी भईसकेको छ । काम भईरहेका योजनाको ५० प्रतिशत सम्पन्न भईसकेको नगरपालिकाले जनाएको छ ।
सार्वजनीक सुनुवाई कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, राजनीतिक दलका नगरप्रमुखहरु, स्थानीय लगायतको सहभागीता थियो । उक्त कार्यक्रमको सहजिकरण पत्रकार राजेश पौडेलले गरेका थिए ।




