| बुधबार, कार्तिक २५, २०८३

चैत २९ देखि बैशाख ७ सम्म गोरखा–जितगढी पदयात्रा हुने

ऐतिहासिक महत्व बोकेका स्थानको पर्यटकीय विकास गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरिरहेको नेपाली सेनाले गोरखा–जितगढी पदयात्रा पनि गर्ने भएको छ । गोरखा दरबारदेखि हनुमानढोका दरबारसम्मको एकीकरण पदमार्गको यात्रा गरिरहेको सेनाले फेरि गोरखा जीतगढी यात्रा गर्ने कार्यक्रम तय गरेको हो ।

नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा गोरखा–तनहुँ–पाल्पा हुँदै जितगढीसम्मको पदयात्रा गर्न लागेको हो । चैत २९ गते गोरखाबाट पदयात्रा सुरु गर्ने नेपाली सेना रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताए । बैशाख ७ गते जितगढी पुगेर यात्रा सकिनेछ ।

पहिलो पटक यो पदयात्रा हुन लागेको हो । नेपाली सेनाले कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको जनाएको छ । यात्रामा सहभागी हुने ४८ जना नेपाली सेनाको टोलीले गोरखादेखि जितगढीसम्मको दुईसय सात किलोमिटर दुरी पूरा गर्नेछन् ।

गोरखा दरबारबाट सुरु हुने यात्रा चैत २९ गते गोरखाको पालुङ्टार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गरिनेछ । तनहुँमा चैत ३०, बैशाख १ र २ गते यात्रा रहनेछ भने बैशाख ३, ४, ५, ६ गते टोली पाल्पा पुग्नेछ । ७ गते सतिघाटमा यात्रा भब्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ ।

यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाई गरिनेछ । बाजागाजा सहित सहभागीलाई स्वागत र बिदाई गर्ने गरी स्थानीयतहसँगको समन्वय भईरहेको नेपाली सेनाले जनाएको छ । यो यात्राले गोरखादेखि जितगढीसम्म पर्यटन प्रर्वद्धनमा पनि मद्धत पुग्ने अपेक्षा स्थानीय तहहरुले लिएका छन् ।

यात्रामा पृथ्वीनारायण शाहाले तत्कालीन समयमा खडा गरेका पल्टनका सेना सहभागी हुनेछन् । यसअघि पनि सेनाले पृथ्वीनारायण शाहले काठमाण्डौँसम्म यात्रा गरेको बाटो गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाण्डौँसम्म टर्च बालेर पदयात्रा गरेको थियो ।

नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्