| बुधबार, कार्तिक २५, २०८३

सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्छ : सांसद पाण्डे

सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस संसदिय दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् । गोरखा नगरपालिकाको आयोजनामा सोमवार गोरखा सदरमुकाममा ६६ औँ राष्ट्रिय सहकारी दिबसको अवसरमा आयोजित कार्यक्रममा उनले भने ‘सहकारीले पुँजी जम्मा गर्ने मात्र हैन, अब उत्पादनको क्षेत्रमा काम गर्नुपर्छ ।’

गाउँका घर रित्तो रहेको, धेरै जमिन बाँझो भएको बताउँदै उनले उत्पादनको क्षेत्रमा काम गर्ने जनशक्तिपनि बिदेशिएको बताए । ‘उत्पादन बढाउन, दक्ष जनशक्तिलाई रोजगारी सिर्जना गर्न र आत्मनिर्भर बन्न सहकारीहरु उत्पादन केन्द्रित हुनुपर्छ’ कांग्रेस केन्द्रिय सदस्य समेत रहेको पाण्डेले भने ।

केही सहकारीमा समस्या देखिएको बताउँदै उनले सबै सहकारी खराब नभएको बताए । ‘केही सहकारीमा समस्या देखियो होला, तर सबै सहकारीमा समस्या छ, संचालकहरु ठग हुन भनेर चर्चा गरिँदैछ, त्यो ठिक होईन’ सांसद पाण्डेले भने । जनताबाट उठाएको पुँजीको सही सदुपयोग नगरेका सहकारी डुबेको बताउँदै उनले सकारात्मक पाटो भन्दा नकारात्मक पक्षलाई प्रचार गर्ने परिपाटीले सहकारीप्रति शंका उब्जाएको बताए ।

सहकारीको नियमन जरुरी रहेको बताउँदै उनले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा आवस्यक कानुन निर्माण गरि दायरा भित्र ल्याउन जरुरी रहेको बताए । सहकारीमा महिलाहरु धेरै आवद्ध हुने गरेको र केही गरौँ भन्ने भावनाको बिकास भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्