
हुलचुकका भूमिहीन दलितको कथा : ‘बिस्टले दिएको बालीले हातमुख जोरेका छौँ’
शिव उप्रेती :
घामले काठमाडौँको हलचोक, पोखराको हलचोक र गोरखाको हुलचुकलाई खासै विभेद गर्दैन, किनभने यी सबै ठाउँमा उदय र अस्तय एकसाथ हुन्छ । विभेद त तिनले गर्छन्, जसले विभेदविरुद्ध बर्षौँदेखि भाषण गर्दै आएका छन्, अभियान सञ्चालन गरिरहेका छन् ।
यही विभेदको शिकार बनेका छन्, धार्चे १ हुलचुकका राजु, मनमाया, सन्तमाया र गोरे बिकहरु । उनीहरुलाई उचोनिच, छुवाछुत, धनी गरिबमा विभेद गर्ने पनि मान्छे नै हुन्, ज्यालामा भेदभाव गर्ने, लालपूर्जामा विभेद गर्ने पनि मान्छे नै हुन् ।
हुलचुकको बाक्लो बस्तीबाट पश्चिमतर्फ घरजत्रा ढुंगाहरुको बगैँचा छ । बस्तीभित्र खोर बनाउने जग्गा नभएकाले हरेक घरपरिबारको बाख्राको खोर त्यही ढुंगेबगैँचामा बनाइएको छ । भकारीभन्दा ठूला समथर ढुंगामाथि बाख्रा र बंगुरका खोरहरु छन् ।
त्यतै ढुंगेवागमा नौ घर दलित(कामी) समुदायको बसोबास छ । उनीहरुमध्य कसैको पनि न ओत लाग्ने घरघडेरीको लालपूर्जा छ, न गरिखाने जग्गा जमिनको । कूल १२ घर बिकहरुमध्य तीनजनाले वैदेशिक रोजगारबाट कमाएको पैसाले घडेरी किनेर घर बनाएका छन् । नौ घरधुरी सार्वजनिक जग्गामा ठडिएका छन् । ‘यो टोल नै सार्वजनिक टोल हो’, मनमाया भन्छिन्, ‘पाँच पुस्ता भयो आएर बसेको । गाउँमा भाँडा अर्जाप्ने कामी नभएर बिस्टहरुले ताकुबाट हाम्रा जिबा, जिमाहरुलाई ल्याएको रे । ल्याएर सार्वजनिक ठाउँमा राखेछन् । त्यो बेलादेखि अहिलेसम्म सार्वजनिकको सार्वजनिकमै बित्यो हाम्रो जुनी ।’ २०३९ र, २०४२ सालमा गाउँमा नापी आउँदा पनि बाजे, बज्यैले वुद्धि नपु¥याएको भन्दै उनले पुर्खाप्रति दुख व्यक्त गरिन् ।
‘आफू आँखा जान्दैन । आँखा जाने त जिल्लामा जान्थ्यो । न त बुरोले जान्छ, न त बुरीले जान्छ, न त छोराले । छोरा पर् भनेको मानेन । छोरा र छोरीलाई बाठो बनाम्ला भनेको, बनाउन पाएन’, आफ्नो यथार्थ अबस्था बनावटी नठान्न आग्रह गर्दै मनमाया भन्छिन्, ‘अध्यक्षहरलाई सोधे नि हुन्छ । हाम्रो त केही पनि छैन । बिस्टको सेवा गरेर खाने हो । बिस्टहरको भाँडा अर्जपेर जति आउँछ, त्यही भाग लाउने हो, खाने हो । त्यसले नपुगे तीनसयको निमेक ग¥यो, खायो ।’
हुलचुक गाउँमा एकदिनभरि मेलापातको काम गरेको निमेक तीनसय रुपैयाँ चलेको छ । ‘मकै दिए दुईपाथी, पैसा दिए तीनसय त हो नि’, अर्का राजु बिक भन्छन्, ‘दिनभरि काम ग¥यो, निमेक जम्मा तीनसय । तीनसयले एकजोर चप्पल त आउँदैन, त्यसले के आउँछ र के खाने ? यहाँ एकपाथी चामलको तीनसय पर्छ ।’
उनको गाउँघरमा पैसाको मुख देख्ने बाटो अरु केही छैन । गाउँपालिका वा वडा कार्यालयले सञ्चालन गरेको विकास निर्माणको योजनामा श्रम गरेको ज्यालादर राम्रै छ । तर गाउँ ठूलो, श्रम गर्न चाहने मान्छे धेरै भएकाले कामको अवसरका लागि हानाथाप हुन्छ । ‘सरकारको काम ग¥यो भने दिनको पाँचसय, छसय पाउँछ, तर कामै एकदिन, दुई दिनभन्दा धेरै गर्न पाउँदैन’, गोरे बिक भन्छन्, ‘समितिमा बस्नेहरुलेचाहिँ योजना नसकियुञ्जेल गर्न पाउँछ, अरुलेचाहिँ त्यही एकदुई दिन मात्र हो, नत्र पाइँदै पाइँदैन । धेरै पाए दुई दिन ।’ बाटो, भवन, खानेपानीको योजनाहरुमा ढुंगा, माटो, काठ बोक्ने काम गर्न पनि हारालुछ हुने उनीहरुको गुनासो छ ।
सरकारी काममा महिला र पुरुषको ज्यालामा विभेद छ । ‘ढुंगा, माटो बोक्ने केटा मान्छेलाई छसय, केटी मान्छेलाई पाँचसय दिन्छन्’, सन्तमाया बिक भन्छिन्, ‘हँसिया, कोदालो खेलाउने, बारी खन्ने, किसानी काम गर्नेलाईचाहिँ तीनसय मात्रै हो ।’ बाउबाजेले सम्पति नआर्जेकाले अहिले आफूहरुले दुख पाएको सन्तमायाको गुनासो छ । ‘हाम्रो बाउबाजेले जरा बसाल्या भए पो हामीले काम गरेर खाने त, जरा त क्यै छैन, हामीले अहिले टुप्पामा मात्र के गर्ने ?’, उनी भन्छिन् ।
हुल्चुकका दलित समुदायको सार्वजनिक जग्गामा एउटा घर शिवाय सम्पतिको नाममा नङमा लाउने माटो पनि छैन । ‘एउटा घर मात्रै छ, बलेनी झरेको भन्दा उता अरुको पर्छ’, तेजमाया बिक भन्छिन्, ‘त्यही पनि आफ्नो नाममा लालपूर्जा भइदिया भए त हुन्थ्यो । जुन अध्यक्ष आए पनि हाम्रो माग पूरा भएन । अघिल्लो अध्यक्षले पनि हुन्छ, हुन्छ भन्दाभन्दै पाँच बर्ष सकियो ।
अहिले नयाँ अध्यक्ष भा’का छन् । उन पनि ल, ल मात्र भन्या हुन् । गाउँमा जति नयाँ मान्छे आए पनि हामीले सुनाउन्या यही दुख हो । बाउ बाजे पनि सुकुम्बासी भएरै मरे । हामी पनि सुकुम्बासी भएरै मर्ने भइयो ।’ भोट माग्न आउनेसंग पनि लालपूर्जा मागेको भन्दै उनले हुन्छ हुन्छ भनेर गएपछि कोही फर्केर नआउने गरेको गुनासो गरिन् ।
‘बस्ने ठाउँ छैन, गरेर खाने जग्गाजमिन छैन । बिस्टहरुले जे, जति दिन्छन्, त्यतिमै खुशी हुनुपर्छ । हामी दलितको जुनी खेरै ग’को हो’, तेजमाया भन्छिन्, ‘एउटा धुरी अट्ने मात्र जमिनको लालपूर्जा भए पनि मलाई त पुग्छ ।’
घर घडेरी जोड्न यहाँका दलित समुदाय वैदेशिक रोजगारीमा नगएका पनि होइनन् । तर तीनजनालेबाहेक अरु कसैले पनि जग्गा किन्ने गरी पैसा नकमाएको उनीहरुको दुखेसो छ । कोही बिरामी भएर फर्केको, कोही रिन तिर्ने पैसा मात्र कमाएर फर्केको, कोही जाँडरक्सीले बिग्रिएर फर्केको, कोही जेलमा परेर उतै चन्दा उठाएर फर्किनु परेको उनीहरुको भनाइ छ । हँसिया कोदालो अर्जपरेर पाएको बालीले पुस्ता बितिरहेको उनीहरुको भनाइ छ ।
‘धन्न यो जनजाति छ र हामी बाँचेका छौँ’, मनमाया बिक भन्छिन्, ‘नून दिन्छन्, तेल दिन्छन्, खुर्सानी दिन्छन् । मकै, कोदो, गहुँ भटमास, केराउ दिन्छन् । उनीहरु जे–जे उब्जाउँछन्, त्यै–त्यै दिन्छन् र हामी पालिएका छौँ । उहाँहरुकै सेवा गरेर खाको हो हामी ।’ जनजाति बिस्टहरुले जेठमा जौ, असोजमा मकै, मंसीरमा कोदो दिने गरेको उनले बताइन् ।




