
गोरखकाली मन्दिर थप भएको म्यादभित्र पनि नसकिने संकेत
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरवार परिसरमा रहेको कालिका मन्दिर निर्माण दोस्रो पटक थप भएको म्यादमा पनि पूरा नहुने भएको छ । २०७८ भदौ १५ गते सम्झौता भएर २०७९ असारमा सक्नुपर्ने मन्दिर र रंगमहल रेट्रोफिटिङको काम पूरा हुन सकेन । पुरातत्व बिभागले निर्माण जिम्मा लिएको धर्म एस् आरआर जेभी कम्पनीलाई २०७९ असार १५ गते म्याद थप ग¥यो । थपिएको म्याद यसै महिनाको मसान्तमा सकिँदैछ । अहिलेसम्म करिब ८५ प्रतिशत मात्रै काम सकिएको छ ।
‘करिब एक करोड ९५ लाख रुपैयाँमा कालिका मन्दिर र रंगमहल निर्माण (रेट्रोफिटिङ) अन्तिम चरणमा पुगेको छ’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले भने । ‘अब काम धेरै छैन, समयभित्रै सकिएन भनेपनि धेरै समय लाग्दैन’ उनले भने । २०७२ बैशाख १२ को भुकम्पले भत्काएको गोरखा दरवारको पुननिर्माण सकिएपछि कालिका मन्दिरको पुननिर्माण सुरु भएको थियो । कालिका मन्दिर नजिकै रहेको गोरखा दरबार चार करोड ३७ लाख लागतमा निर्माण भएको थियो ।
अहिले निर्माण भईरहेको कालिका मन्दिर र रंगमहलमा झिंगटी लगाउने, टायल छाउने, धुरीको केही काम बाँकी छ । वर्षात अगाबै काम भएन भने निर्माण हुँदै गरेको मन्दिरमा क्षति पुग्न सक्छ । ‘काम छिटो गर्न ताकेता गरेका छौँ’ अड्डा प्रमुख भुसालले भने । कालिका मन्दिरको पूजा गोरखा दरवार भित्र गरिँदै आइएको छ ।
गोरखा दरवार जोगाउन पर्खाल लगाउने, मर्मत गर्ने काम पनि सुरु भएको हेरचाह अड्डाका प्रमुख भुसालले बताए । ‘८० लाखको लागतमा गोरखनाथ मन्दिर भन्दा तलपट्टिको पर्खाल लगाउने, भुकम्पले चिरिएको ठाउँमा बलियो बनाउने काम सुरु भएको छ’ उनले भने । गोरखा दरवार डाँडामा रहेकाले दायाँबायाँ पर्खाल कमजोर हुँदा क्षति हुन सक्ने जोखिम भएकाले न्यूनिकरण गर्न पर्खाल लगाउन लागिएको उनले बताए ।
निर्माण कम्पनीले काठ अभावका कारण केही दिन ढिला भएको बताएको छ । ठूलो, लामो काठहरु तराईबाट ल्याउनुपर्ने भएकाले केही समय लम्बिने भए पनि थपिएको म्याद भित्रै सक्ने योजना रहेको कम्पनीले जनाएको छ ।
आईतवार गोरखा दरवार, गोरखकाली मन्दिर, गोरखनाथमा राष्ट्रपति रामचन्द्र पौडेलले पूजाअर्चना गरेका थिए । उनले आपूm राष्ट्रपति भएपछि काठमाडौँ बाहिर पहिलो पटक नेपाल एकीकरणको सुरुवात भएको गोरखामा भ्रमण गर्न पाउँदा खुसी लागेको बताए । गोरखाको इतिहासका बारेमा पनि उनले पृथ्वी नारायणशाह, राम शाह, बिसे नगर्चीको योगदानलाई स्मरण गरेका थिए ।




