
गोरखामा ३८ करोडको ठेक्का मिलेमतोमा
गोरखाको एक कार्यालयले हालै गराएको सडक कालोपत्रे गर्ने ३८ करोड रुपैयाँको ठेक्कामा प्रतिस्पर्धी बीच मिलेमतो भई एकजनाको नाममा ठेक्का पारिएको छ ।
पूर्वाधार विकास कार्यालय गोरखाले आव्हान गरेको सिम्जुङ–घ्याच्चोक सडक कालोपत्रे गर्ने ठेक्कामा इबिडिङ गरेका पाँच व्यवसायीमध्य चार व्यवसायी मिलेमतो गरी बाहिरिएर ठेक्का कर्ण–नवकान्तिपुर जेभी महाराजगञ्जको पोल्टामा पारिएको हो ।
सिम्जुङ–महभीर–घ्याच्चोक सडकको ७.३ किलोमिटर खण्ड कालोपत्रे गर्न शिवालय–गोरखा जेभी, काष्ठमण्डप कन्स्ट्रक्शन, कल्पवृक्ष बिल्डर्स प्रालि र नाना–प्यागोडा जेभीले अन्तिम दिन(चैत १३ गते) ठेक्का फिर्ता लिएका कार्यालयले जनाएको छ । चारजना व्यवसायीले टेण्डर फिर्ता गरेपछि कार्यालयले गत १४ गते कर्ण–नवकान्तिपुर जेभीको नाम प्रकाशित गरी टेक्निकल आशयको सूचना जारी गरिसकेको कार्यालयकी सूचना अधिकारी निर्मला बरालले जानकारी दिइन् ।
सो सडक चौडाइ बढाउने, मेसिनरी तथा ग्याभिन वाल लगाउने र कालोपत्रे गर्न कार्यालयले गत माघ २७ गते ठेक्काको सूचना प्रकाशित गरेको थियो । ‘गत माघ २७ गते ३० दिनको म्याद राखेर ठेक्का आव्हान गरेका थियौँ । सिस्टम नखुलेर चैत १३ गते मात्रै खुलायौँ । कर्ण–नवकान्तिपुर जेभीको नाममा टेक्निकल आशयको सूचना पनि जारी भइसक्यो’, बरालले भनिन्, ‘पाँचजनाको दरखास्त परेको थियो । चार जनाले एउटै मितिमा फिर्ता लिनुभयो । कर्ण–नवकान्तिपुरको नाममा परेको रहेछ । योचाहिँ टेक्निकल मात्र हो । फेरि एकहप्ताको म्याद दिएर हामीले आशयको सूचना निकालेका छौँ । यो अवधिभित्र नाम प्रकाशित भएको कम्पनीले आफ्नो कम्पनी दर्ताका कागजातहरु, यसअघि काम गरेको योग्यता, अनुभवका कागजातहरु, वैँक व्यालेन्ससिटहरु, टर्न ओभर हेर्नुपर्छ । अबको एकहप्तापछि बल्ल फाइनान्सियल खोलिन्छ ।’ फाइनान्सियल खोलेपछि बल्ल स्टिमेट गरेको ३८ करोड ३४ लाख ७५ हजार रुपैयाँ भन्दा कति घटेर टेण्डर पर्छ भन्ने थाहा हुने उनले बताइन् ।
सम्झौता मितिले दुईबर्षभित्र कालोपत्रे गरिसक्ने गरी ठेक्का खुलाइएको कार्यालयले जनाएको छ ।
दुई करोड रुपैयाँभन्दा कम बजेटकोको काममा एकै चरणमा ठेक्का पर्ने प्रक्रिया पूरा हुन्छ । सोभन्दा बढि बजेटको योजनामा दुई चरणमा ठेक्का प्रक्रिया पूरा हुने उनले बताइन् । ‘दुई करोडभन्दा ठूलो बजेटको ठेक्कामा टेक्निकल र फाइनान्सियल गरी दुई चरणमा ठेक्का प्रक्रिया पूरा हुन्छ । यो ठेक्का पनि पहिलो प्रक्रिया पूरा भयो । अब दोस्रो चरणको बाँकी छ’, सूचना अधिकृत बरालले भनिन्, ‘यहाँ कसरी चार जनाको फिर्ता भयो र एकजनाको मात्र प¥यो हामीलाई थाहा हुदैन ।’
आर्थिक प्रलोभनमा परी पाँच व्यवसायी बीच ठेक्कामा मिलेमतो भएको अनुमान गरिएको छ । कूल ठेक्का रकमको चारप्रतिशत रकम मिलेमतोमा खर्च गरिएको अनुमान छ । ठेक्कामा प्रतिष्पर्धा नगरी मिलेमतो हुँदा कुल स्टमेट रकममा घटाघट नहुने र राजस्वमासमेत नोक्सानी हुनेगर्छ । साथै प्रतिस्पर्धा नगरी मिलेमतोको संस्कृति मौलाएमा निर्माण व्यवसायीको मनोमानी बढ्ने बताइन्छ ।
२० लाखभन्दा ठूलो बजेटको ठेक्कामा एकजनाको मात्र दरखास्त परे पनि बिना प्रतिस्पर्धा सदर हुने खरिद ऐनमा उल्लेख छ ।




