
आरुघाटको स्तुल खोलामा साढे चार करोड लागतमा बेलिब्रिज बन्ने
आरूघाट गाउँपालिकामा रहेको स्तुल खोलामा करिब चार करोड लागतमा बेलिब्रिज बन्ने भएको छ । शनिबार आरूघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र उपाध्यक्ष कल्पना नेपालीले बेलिब्रिजको शिलान्यास गरेका हुन् ।
राजु गुरुङले निर्वाचनअघि यहाँ पुल बनाउने बाचा गरेका थिए । बजार नजिकै भएर पनि आरूपोखरीका बासिन्दाले सवारीसाधन सहज रूपमा आवतजावत गराउन पाएका भने थिएनन् । पुल बन्ने भएपछि स्थानीयहरु आवतजावतमा सहज हुने अध्यक्ष गुरुङले बताए ।
साढे चार करोड लागतमा निर्माण हुन लागेको बेलिब्रिजको ठेक्का जलप मेटल प्रा लि र होम निर्माण सेवाले पाएका छन् । सम्झौता अनुसार ठेकेदार कम्पनीले पुलको निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्नु पर्नेछ । तर बर्खा समयमा स्थानीयहरु आवतजाव गर्नुपर्ने भएकाले आउने असार मसान्त सम्ममा पुलको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको पालिका अध्यक्ष राजु गुरुङले बताए ।
‘हिउँदमा सजिलैसँग सवारी साधन आवतजावत हुन्छ तर बर्खाको समयमा सधै समस्या भोग्नुपरेको थियो, बर्खाको समयमा गाडी नचल्दा विरामी बोक्न पनि निकै समस्या हुने गरेको थियो, त्यसैले यहाँ सबैले बेलिब्रिज बनाउनुपर्छ भनेर माग गरेका थियौ’, उनले भने । सबैको आवश्यकता ठानेर नै बेलिब्रिजको शिलान्यास गरिएको उनको भनाइ छ । अहिले बेलिब्रिज निर्माणका लागि जग खन्ने काम सुरु भइसकेको छ ।
उक्त बेलिब्रिज निर्माण भएपछि आरुघाट गाउँपालिकाको वडा नं सात, आठ र नौ वडाका स्थानीयहरु लाभान्वित हुनेछन । विशेष गरेर साविकका आरुपोखरी गाविस, बारपाक सुलिकोटको गैरीछाप, तीनखण्डे, बालुवा लगायतका स्थानीयहरु लाभान्वित हुनेछन ।




