| बुधबार, कार्तिक २५, २०८३

गोरखाको जनसंख्या ०.७४ प्रतिशतले घट्यो

राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भए अनुसार गोरखाको जनसंख्या ०.७४ प्रतिशतले घटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार गोरखाको जनसंख्या २ लाख ५१ हजार २७ रहेको छ । २०६८ को जनगणनामा गोरखाको जनसंख्या २ लाख ७१ हजार ६१ थियो । १० वर्षको अवधिमा जिल्लाको जनसंख्या २० हजार ३४ जनाले घटेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । तथ्यांकमा उल्लेख भए अनुसार गोरखाको जनसंख्या ०.७४ प्रतिशतले घटेको हो ।

कार्यालयका अनुसार राष्ट्रिय जनगणना २०७८ का अनुसार गोरखामा पुरुषको संख्या एक लाख १८ हजार १५५ जना र महिलाको संख्या एक लाख ३२ हजार ८७२ जना रहेका छन् ।

त्यस्तै, जिल्लामा अपाङगता भएको जनसंख्या ४ हजार ७ सय ३३ र महिला ४ हजार २ सय ६५ गरी कुल ८ हजार ९ सय ९८ जना रहेका छन् ।

गोरखाको साक्षरता दर ७२.३७ प्रतिशत रहेको छ । जनगणना भए अनुसार गोरखा परिवारको संख्या १७ हजार ३८४ रहेका छन् । जिल्लाको जनघनत्व ७० रहेको छ ।

यस्तै, गोरखाका २३ हजार ६८ जना विदेशमा रहेको तथ्यांकमा उल्लेख छ । प्रतिशतमा हेर्दा यो कुल जनसंख्याको १.०५ प्रतिशत हुन आउछ ।

त्यस्तै, राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।

विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्