| बुधबार, कार्तिक २५, २०८३

गोरखा बजारमा पार्किङको नयाँ नियम

गोरखा बजार क्षेत्रमा सवारी साधन पार्किङ गर्नका लागि नयाँ नियम लागू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले विहिबारबाट हरमटारीचोकदेखि बिसौनीमोडसम्म बायाँ (हरमटारीबाट बिसौनीमोड जादाँको देव्रे तर्फ) मात्र सवारी पार्किङ गर्न पाउने व्यवस्था गरेको हो ।

सो क्षेत्रमा दाहिने तर्फ सवारी साधन पार्किङ निषेध गरिएको जिल्ला ट्राफिक इन्चार्ज बेदनाथ भण्डारीले बताए । त्यस्तै, जिविसचोक आसपास भने दायाँ तर्फ केही मोटरसाइकल पार्किङ गर्न ठाउँ तोकिएको उनले बताए ।

शक्तिचोकदेखि बसपार्कसम्म पनि वाणिज्य वैंक भएको साइट(वायाँ तर्फ)तर्फ मात्र पार्किङ गर्न पाउने व्यवस्था गरिएको छ । बिसौनीमोड देखि शक्तिचोकसम्मको क्षेत्रमा बोर्ड राख्नका लागि भने स्थानीयसँग छलफल भइरहेको भण्डारीले जानकारी दिए ।

उनका अनुसार हरमटारीदेखि घ्याम्पेशालचोकसम्म यसअघि नै आलोपालो दाया वाया पार्किङको व्यवस्था भइसकेको छ । एक दिन दायाँ र अर्काे दिन वायाँ आलोपालो पार्किङको व्यवस्था मिलाइएको ट्राफिक इन्चार्ज भण्डारीले बताए ।

बजार क्षेत्रको पार्किङलाई व्यवस्थित गर्ने उदेश्यले स्थानीय टोल बिकास संस्थासँग छलफल गरी पार्किङ निषेधित क्षेत्रमा ‘नो पार्किङ’ को बोर्ड राखिएको उनले बताए । हरमटारी देखि विसौनी मोड सम्मका पार्किङ निषेधित क्षेत्रमा ‘नो पार्किङ’ का बोर्डहरु राखिएको छ । शक्तिचोक देखि बसपार्क सम्म बोर्ड राख्ने तयारीमा रहेको उनले बताए ।

लागू गरिएको नयाँ व्यवस्थालाई अटेर गरी जथाभावी पार्किङ गरेमा पहिलो चरणमा सम्झाई बुझाउने र अटेरी गरे जरिवाना सहित कारवाही गरिने कार्यालयले जनाएको छ ।

बजार क्षेत्रमा सवारी आवागमनलाई सहज बनाउन र ट्राफिन व्यवस्थानका लागि उक्त व्यवस्था लागु गरिएको उनले बताए । यसका साथै दुर्घटना न्यूनीकरण गर्नका लागि र फुटपाथबाट सवारी साधन हटाउनसमेत यो नियम लागु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्