
चुमनुब्रीमा कुमारी बैंकको एटिएम सेवा सुरु
उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा बैंकले एटिएम सेवा सुरु गरेको छ । गाउँपालिकाको केन्द्र फिलिममा कुमारी बैङ्गले एटिएम ग्राहकलाई कार्डबाट पैसा निकाल्न मिल्नेसुविधा दिएको हो ।
यहाँ पुग्नेपर्यटक र स्थानीयहरुलाई लक्षित गर्दै बैंकले विहिबारबाट एटिएम कार्डबाट पैसा निकाल्न मिल्ने गरी सेवा सुरु भएको कुमारी बैंक चुमनुब्री शाखाका प्रमुख कृष्ण पोखरेलले बताए ।
‘हिजोबाट एटिएम कार्डबाट पैसा निकाल्न मिल्ने सेवा सुरु भएको हो, बुधवार पनि दुई जना पर्यटकले एटिएम प्रयोग गरी पैसा निकाल्नु भएको थियो’, उनले भने । नेपाल राष्ट्र बैकको नियम अनुसार अन्य एटिएमबाट जस्तै त्यहाँको एटिएमबाटपनि प्रयोगकर्ताले सेवा लिन पाउनेछन् ।
एटिएम सेवा निरन्तर संचालन हुने बताउँदै कहिले काही इन्टरनेटमा समस्या आएमा मात्र सेवा अवरुद्ध हुन सक्ने उनले बताए । अहिले स्थानीय हाइड्रो पावरबाट चल्ने विद्युतबाट सो सेवा सुरु गरिएको र बैंकको ब्याकअप रहेकोले सेवा संचालनमा कठिनाई नहुने उनको भनाइ छ ।
आरुघाटबजार बजारबाट माथिल्लो क्षेत्रमा पहिलो पटक एटिएम सुविधा सुरु भएको हो । चुमनुब्री गाउँपालिकाको केन्द्रमा कुमारी बैङको शाखा २०७४ सालमा स्थापना भई २०७५ सालबाट आर्थिक कारोबार सुरु गरेको थियो । उत्तरी गोरखा पुग्ने पर्यटकहरुको सहजकताका लागि दुर्गम ठाउँमा एटिएम सेवा सुरु गरेको शाखाले जनाएको छ । शाखाले एटिएम प्रयोगकर्ता बढ्ने अनुमान गरेको छ ।




