
गोरखा प्रहरीद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
गोरखा प्रहरीले नागरिक सुनुवाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखा र सामाजिक सेवा केन्द्रको आयोजनामा बुधवार भएको कार्यक्रममा बिगत तीन महिना यता प्रहरीले गरेका गतिविधि, घटना, मुद्दा लगायतका बारेमा प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी गराएका थिए ।
साथै सोही अवसरमा राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरुले गोरखा प्रहरीले गर्दै आएको कामको प्रशंसासँगै सुझावसमेत दिएका थिए । गोरखा बजारको सीसी क्यामेरा प्रभावकारी प्रयोगमा ल्याउनु पर्ने, पालुङटार, गोरखाबजार लगायत ठाउँमा भएको चोरीको घटना छिटो पहिचान गर्नुपर्ने, भीमसेन थापा ७ को सहकारीबाट नगद चोरीको घटनाका आरोपी पत्ता लगाउनु पर्ने, जेष्ठ नागरिकलाई यातायातमा दिईने छुट कार्यान्वयन गर्नुपर्ने, गोरखा बजारको फुटपाथ ब्यवस्थित गर्नुपर्ने, बस चालकहरुले गाँजा सेवन गर्ने क्रम बढेकाले चेकजाँचको ब्यवस्था मिलाउनु पर्ने लगायतका विषयमा नागरिक समाजका ब्यक्तिहरु, जनप्रतिनिधिले सुझाव दिएका थिए ।
प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले प्रहरीले दिँदै आएको सेवा, ट्राफिक ब्यवस्थापन, शान्ति सुरक्षा, घटनाहरुको सफल अनुसन्धान, पूर्वाधार निर्माणमा भएको प्रयास लगायतका बारेमा जानकारी गराएका थिए । सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामहरि केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले प्रहरीको कामलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।




