| बुधबार, कार्तिक २५, २०८३

पार्टीभित्रको अराजकता र अवसरवादलाई नियन्त्रण गर्नुपर्छ : उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको अराजकता र अवसरवाद प्रवृतिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा संघ गोरखाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले पार्टीको संगठन सुदृढीकरण गर्नका लागि अवसरवाद र अराजकता नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

गोरखामा एमालेले संगठन सुदुढीकरण अभियानलाई व्यापक रुपमा संचालन गर्नुपर्ने सुझाव दिदै उनले आगामी दिनमा जिल्लामा कम्युनिष्ट पार्टीको नेतृत्व एमालेले गर्नुपर्ने बताए । यसका लागि पार्टीभित्र विद्यमान अराजकता, अवसरवादलाई नियन्त्रण गरी पार्टीको विधान सबैले पालना गर्नुपर्ने बताए ।

अहिले देशले विभिन्न चुनौतीहरुको सामना गरिरहेको बताउदै उनको यो चुनौतीलाई पार्टीको नेतृत्वले अवसरका लिई संगठन विस्तारमा जोड दिनुपर्ने तर्क दिए । साथै अहिले नेकपा एमाले सरकारको प्रतिपक्षमा रहेको र प्रतिपक्षको भूमिका सशक्त हुनुपर्नेमा उनले बताए । वर्तमान सरकार दलाल पुँजीपतिहरुको प्रभावमा परेकाले त्यस्तो प्रवृत्तिको अन्त्य नगरेसम्म देशमा समाजवादको आधार तयार हुन नसक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका केन्द्य्रिय महासचिव क्षितिज थेवेले संघको नेतृत्वमा राष्ट्रिय युवा नीति लागू भएको बताए । उनले राजनीतिमा लाग्ने युवाहरु अनुशासित, मर्यादित र बैचारिक हुनुपर्नेमा जोड दिए । सो क्रममा स्थानीय तहमा एमालेबाट निर्वाचित वडाध्यक्षहरु, युवा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष हरि रोकाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत, युवा संघका गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङ, एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पार्वती पाठक, संघका सहसंयोजक रामकुमार श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्