| बुधबार, कार्तिक २५, २०८३

मस्र्याङ्दीमा पानीभित्रै एक्साभेटर लगाएर दोहन, नियमन निकाय मौन

गोरखा र तनहुँको सिमानामा पर्ने मस्र्याङ्दी नदीमा अवैध रुपमा नदीजन्य पदार्थको दोहन भएको छ । नदीको बीच भागबाट एक्साभेटर लगाएर बहाव नै परिर्वतन हुने गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन् भईरहेको गुनासो स्थानीयले गरेका छन् । अवैध रुपमा भएको उत्खनन्को अनुगमन हुन सकेको छैन ।

गोरखा नगरपालिका वडा नम्बर १४ को शाहघाटमा एकलाख ४३ हजार ४६ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्ने गरी सुजन छिम्केश्वरी निर्माण सेवाले जिम्मा लिएको छ । यहाँ तीनवटा एक्साभेटरले धमाधम पानीभित्रैबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् । संकलन गरिएको निर्माण सामग्री तनहुँतर्फ घाटगद्दी गरिएको छ । भैसेटारमा ८६ हजार पाँच सय ९४ घनफिट नदीजन्य सामग्री संकलनको जिम्मा छिम्केश्वरी निर्माण सेवाले लिएको छ ।

यी दुबै कम्पनीले उक्त सामग्रीहरु चाईना कम्यूनिकेशन कन्ट्रक्शन कम्पनीलाई बिक्री गर्ने गरी संकलन गरिरहेका छन् । यो कम्पनीले आँबुखैरेनी–पोखरा सडकको खण्ड बिस्तार सहित कालोपत्रेको जिम्मा लिएर काम गरिरहेको छ ।

गोरखातर्फको शाह घाटमा उत्खननको जिम्मा लिएको सुजन छिम्केश्वरी निर्माण सेवाले अवैध रुपमा उत्खनन् गरेपनि नियमक निकाय मौन छ । ‘नदीभित्र उत्खनन् गर्न मिल्दैन, गुनासो आएपछि मैले सोमवार स्थलगत हेरेर पानीबाट उत्खनन नगर्न भनेको छु’ गोरखा नगरपालिकाका प्राविधिक कपिल कोईरालाले भने । तीनदिनदेखि त्यहाँ उत्खननको काम चलिरहेको उनले बताए ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले कानुन बिपरित उत्खनन भएको भए अनुगमन गरेर कारवाही गरिने बताए । ‘प्राविधिक, जनप्रतिनिधिलाई पठाउँछौँ, हामी पनि अनुगमन गर्छौँ’ उनले भने ‘कानुन बिपरित पाईएमा कारवाही गर्छौँ’ उनले भने । (आईई) रिपोर्ट भन्दा बाहिर गएर काम गर्न छुट नभएको उनले बताए ।

आँबुखैरेनी गाउँपालिका र पालुङटार नगरपालिकाले भने सिधै चाईना कम्यूनिकेशन कन्ट्रक्शन कम्पनीलाई नदीजन्य पदार्थ बिक्री गरेका छन् । आँबुखैरेनी गाउँपालिकाले ४५ हजार घनमिटर बिक्री गरिसकेको प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद शर्माले बताए ।

मार्किचोक घाट, सत्रसय घाट, बरादी घाटबाट उक्त परिणाममा सामग्री संकलन गरिएको गाउँपालिकाले जनाएको छ । ‘एक करोड २८ लाखको बिक्री भईसकेको र थप माग भएपछि अहिले मार्किचोकघाटबाट ११ सय ५८ घनमिटरको अनुमति लिएको छ ।’ करिब ३५ लाख रुपैयाँका दोस्रो चरणमा बिक्री भएको उनले बताए ।

पालुङटार नगरपालिकाले अवण्डा घाटबाट १८ सय तीन घनमिटर, मझुवा घाटबाट नौ सय ८२ घनमिटर, खोलाघाटबाट तीन हजार पाँच सय दुई घनमिटर, चनौटेघाटबाट एक हजार पाँच सय ७० घनमिटर नदीजन्य पदार्थ संकलन गर्ने अनुमति दिएको छ । करिब २३ लाख रुपैयाँमा उक्त सम्झौता भएर अहिले संकलनको काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

चाईना कम्यूनिकेशन कन्ट्रक्शन कम्पनीले नदीजन्य पदार्थ संकलन गर्दा पानीको बहावबाटै उत्खनन गरेको छ । एक्साभेटर लगाएर नदीबाटै उत्खनन गरेको गुनासो स्थानीयले गरेका छन् । बतावरणीय प्रभाव मूल्याङ्कनले नदीभित्रैबाट उत्खनन गर्न नमिल्ने भनेको छ ।

नदीजन्य सामग्रीको उत्खनन गर्दा एक्साभेटरबाट गर्न नमिल्ने भन्दै बिगतमा गोरखाका स्थानीय तहहरुले अनुमती दिएका थिएनन् । चाईना कम्यूनिकेशन कन्ट्रक्शन कम्पनीले एसियाली बिकास बैंक मार्फत तयार भएको आईईई सडक बिभागबाट स्वीकृत गराएर एक्साभेटर प्रयोग गर्न पाउने दावी गर्दै आएको छ ।

सोही अनुसार स्थानीय तह, जिल्ला अनुगमन समितिलाई पत्राचार सँगै दबाव दिएपछि स्थानीय तहले एक्साभेटर प्रयोग गर्न अनुमती दिएका छन् । आँबुखैरेनी गाउँपालिका, गोरखा नगरपालिकाले अनुमति दिएपछि पालुङटार दुई महिना ढिला गरी एक्साभेटर लगाउने अनुमति दिएको थियो ।

मुग्लिन पोखरा सडक स्तरोन्नति आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले अवैध उत्खनन नभएको दाबी गरेका छन् । ‘राष्ट्रिय प्राथमिकताका आयोजनाहरु फास्ट ट्रयाकमा सम्पन्न गर्न आवश्यक परिमाणका निर्माण सामग्री उपलब्ध गराउनु पर्ने हुन्छ’, उनले भने, ‘त्यसका लागि आईईईमा उल्लेख भएअनुसार मेसिन प्रयोग गरेर उत्खनन गर्न पाउने व्यवस्था हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्