
रासायनिक मलमा अनुदान कटौतीको निर्णय फिर्ता लिन माग
रासायनिक मलमा किसानलाई दिदै आएको अनुदान सरकारले भारी मात्रामा कटौती गरेकोप्रति नेपाल किसान महाघंघ गोरखाले आपत्ति जनाएको छ । प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै गत फागुन २० गते गरिएको उक्त निर्णय सच्याउनका लागि संघले ध्यानाकर्षण गराएको हो ।
सरकारको उक्त निर्णयले किसानले १८ रुपैयामा खरिद गर्दै आएको युरिया मल प्रतिकिलो २५ रुपैयाँ पुगेको र ४३ रुपैयाको डिएपी ५० र पोटास मल ४२ रुपैयाँ भएको महासंघ गोरखाका इन्चार्ज हरि भट्टद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा भनिएको छ । साथै यसले कृषि उत्पादनमा लागत बढ्न गई कृषि उपजहरुको मुल्यमा बृद्धि हुने र यसले आम उपभोक्ताहरु खाद्य अधिकार तथा खाद्य सुरक्षाबाट बन्चित हुने जोखिम बढेको उल्लेख गरिएको छ ।
अन्तरास्ट्रिय बजारमा रासायनिक मलको मूल्य करिव आधा घटेको देखिन्छ तर नेपाल सरकारले भने रासायनिक मलको मुल्यमा व्यापक वृद्धि गरेको गुनासो किसान संघको छ ।
‘सरकारको यस निर्णयले देशका ६० प्रतिशत किसान, समग्र कृषि क्षेत्र र आम उपभोक्ताहरुमा गम्भीर असर पारेको छ’ बिज्ञप्तिमा भनिएको छ । किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुको सट्टा उनीहरुलाई नै मार पर्ने गरी गरिएको यस प्रकारका निर्णयप्रति किसान महासंघ खेद प्रकट गर्दै घोर भत्सना गर्दछ’, पत्रमा भनिएको छ ।
सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिदै आएको एकमात्र अनुदान कटौटी गर्ने अत्यन्त अवेदनशील र गैरजिम्मेवार निराय अविलम्ब फिर्ता लिन किसान महासंघले माग गरेको छ । उक्त माग संवोधन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने अखिल नेपाल किसान महासंघ गोरखाले जनाएको छ ।




