
उद्योग वाणिज्य संघले नीजि क्षेत्रको साख जोगाउने काम गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य संघले निजी क्षेत्रको साख जोगाउने गरी काम गर्नुपर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उनले संघले नीजि क्षेत्रको प्रतिनिधित्व गर्दै आफनो साख जोगाउने गरी काम गर्नुपर्ने बताएका हुन् ।
विकासका दृष्टिकोणले गोरखा अत्यन्तै सम्भावना बोकेको ठाउँ भएको बताउदै वर्षौदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई निजी क्षेत्रले संचालन गर्नुपर्नेमा उनले जोड दिए । फरक प्रसंङ्गमा उनले अहिले सस्तो र लोकप्रियताको नाममा वैंक तथा वित्तीय संस्थाका कर्मचारी माथि कुटपिटका घटनाहरु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए । हरेक कुराहरु वार्ताद्वारा समस्याको समाधान गर्नुपर्ने समेत उनले जोड दिए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले अहिले देशको आर्थिक क्षेत्र नाजुक अवस्थामा पुगेकाले सबै निजी क्षेत्रका व्यवसायिकहरु एकजुट भएर लाग्नुपर्ने बताए । उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले पनि अहिले आर्थिक अवस्था सबै धरासायी हुने अवस्थामा पुगेको भन्दै सबै व्यवसायीहरु एकताको खाँचो रहेको बताए ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता तथा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले कार्यप्रगति प्रतिवदेन र कोषाध्यक्ष राजेन्द्र विश्वकर्माले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगर, चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा, महासंघका केन्द्रका पुर्व उपाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य, बाबुराम गिरी, किशोर आचार्य, संघ पर्वत जिल्ला अध्यक्ष गोपी अधिकारी, चेम्बर अफ कर्मस गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, नेपाली काँग्रेस गोरखाका सहसचिव लुमनाथ लामिछाने, नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपाली, नेकपा माओवादी केन्द्रका सदस्य कमला नहर्की, नेकपा एकीकृत समाजवादीकी सानुमाया बस्नेत, संघ गोरखाका पूर्व अध्यक्ष जीवनज्योति श्रेष्ठ, अच्युतलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




