
आफनो क्षेत्राधिकारभित्र रही काम गर्न संघसंस्थालाई प्रजिअको निर्देशन
गोरखामा क्रियाशील गैरसरकारी संघसंस्थाहरुलाई सरकारको नीति नियममा रहेरमात्र आफनो गतिविधि अघि बढाउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार सम्पन्न गैरसरकारी संस्थाहरुसंगको छलफलमा उनले सो कुरा बताएका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संचालनमा रहेका विभिन्न संघसंस्थाहरुले नीति नियममा रहेर मात्र आफनो गतिविधि संचालन गर्न निर्देशन दिँदै उनले सबै गैर सरकारी संस्थाले आफनो कर्तव्यप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । सबै संघसंस्थाहरुले प्रत्येक तीन÷तीन महिनामा संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नियमित रुपमा करचुक्ता र नविकरण गर्नुपर्ने उनले बताए । गैरसरकारी संघसंस्थाले स्वास्थ्य, शिक्षा, विकासका पूर्वाधार तथा विपदको समयमा महत्वपूर्ण भूमिका खेलेकोमा प्रसंसा गर्दैै उनले आफूले गर्ने काम, कर्तव्य अधिकार समेटिएको विवरण प्रशासन कार्यालय बुझाउन समेत आग्रह गरेका थिए ।
प्रशासन कार्यालयमा दर्ता भई क्रियाशील रहेका १९ सय संघसंस्थाहरुको लिस्ट तयार गरिरहेको पनि उनले जानकारी दिए । गोरखामा ७÷८ वटा मात्र गैरसरकारी संस्थाहरु निरन्तर क्रियाशिल रहेको उनको भनाइ छ ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ गाोरखाका अध्यक्ष सीताराम श्रेष्ठले गोरखामा विगतमा भूकम्प र कोभिडको समयमा स्थानीय सरकारसँग समन्वय गरी जनतालाई राहत लगायतका स्वास्थ्य, शिक्षा, जिवीकोपार्जन लगायतका क्षेत्रमा महत्वपुर्ण काम गरेको बताए । उनले जिल्लाभित्र गैरसरकारी संघसंस्थाहरुको पहलमा दुईसयभन्दा बढी विद्यालय, एकसय ४६ वटाभन्दा बढी खानेपानी आयोजना, ४६ भन्दा बढी स्वास्थ्य चौकी भवन निर्माण गरेको जानकारी दिए ।
तर सरकारले पूर्व जानकारी विना २०७४ सालयता भएका सबै कारोबार भ्याटयोग्य हुने र त्यसको भ्याट तिनुपर्ने भनेर परिपत्र आएको बताए । एकमुष्ट रुपमा ५ आर्थिक वर्षको भ्याट तिर्न नसकिने उनले जानकारी दिए । आफुहरुले कुनै गलत काम नगरेको बताउदै उक्त निर्णय सच्याउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, संस्था नविकरणको क्रममा समाज कल्याण परिषदले पटक पटक विभिन्न समस्या दिने गरेको बताउदै यसको समाधान गरिदिन प्रजिल भुसाललाई आग्रह गरेका थिए । कार्यक्रममा सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले कार्यालयबाट संचालन हुने योजनाको प्रकृतिको आधारमा जिल्ला क्रियाशील संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढिरहेको बताए ।
कार्यक्रम सहभागी वक्ताहरुले गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकामा बाहेक अन्य पालिकामा स्थानीय आपतकालिन कार्य संचालक केन्द्र नभएकाले सम्बन्धित क्षेत्रमा त्यस तर्फ ध्यान दिनुपर्ने बताएका थिए । प्राकृतिक रुपमा आइपर्ने आपतविपतको बेलामा उद्धार लगायतका कार्य गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनीहरुको भनाइ छ ।
गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुषाललको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लामा रहेको सरकारी तथा गैर सरकारी संघसंस्थाहरु पदाधिकारीहरु, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।




