| बुधबार, कार्तिक २५, २०८३

गोरखाको नारेश्वरबाट अवैध काठसहित एक जना पक्राउ

अवैध काठसहित गोरखाको नारेश्वरबाट एक जना पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ३ नारेश्वर चिसापानीका ४२ वर्षीय आशकुमार सुनारलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सुनार आफैले संचालन गरेको आशिष फर्निचर उद्योगमा अवैध रुपमा सालको काठ लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरीले टोलीले खोजतलास गरेका थिए ।

सो क्रममा फर्निचर उद्योगबाट साल जातको ४९ थान गोलिया काठ र विभिन्न नापका चिरान काठ सहित एक सय १९ थान काठ बरामद गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।

अवैध रुपमा राखिएको काठ सहित उद्योगका संचालक सुनारलाई पनि नियन्त्रणमा लिएको उनले जानकारी दिए । उनलाई सोमबार नै थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय गोरखामा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्