
गोरखा बजारमा भएको गाडी दुर्घटनामा आठ जना घाइते
गोरखा बजारको बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् ।
सोमबार दिउँसो १ बजे प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक पल्टिँदा ६ पुरुष र २ महिला घाइते भएका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
घाइतेहरु कसैको पनि पहिचान खुल्न सकेको छैन । उनीहरुको गोरखा अस्पतालमा उपचार गरिएको छ । दुईजनालाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
आरुघाटबाट तरकारी लगायतका सामान लिन गोरखा बजार आउँदा दुर्घटना भएको र चालक उमेश श्रेष्ठ पनि घाइते भएका उनका आफन्त संगम श्रेष्ठले जानकारी दिए ।
बसपार्कतर्फबाट हरमटारीतर्फ जाँदै गरेको सो मिटीट्रकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर करिब ५० मिटर तल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालमा ठोक्किन पुगेको थियो ।
साथै बा ८६ प १७८६ नम्बरको मोटरसाइकलाई समेत लतारेर लगेको छ । मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका छन् ।
ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भए पनि थप जानकारी नभएको डिएसपी लामिछानेले बताए ।





