| बुधबार, कार्तिक २५, २०८३

त्रिशुली छेकेर बालुवा ओसारपोसार

त्रिशुलीको स्वतन्त्र वहाव छेकेर ठेकेदारले सहिदलखन गाउँपालिका ४ करनटारस्थित ठेउवाटारघाटबाट बालुवा ओसार्नेे तयारी गरेको छ । सो गाउँपालिकाले ठेक्का लगाएको छ हजार घनमिटर बालुवा उत्खनन् र ढुवानीका लागि सिन्धुपाल्चोकको त्रियुगा निर्माण सेवाले त्रिशुली छेकेको हो ।

यसअघि धारापानीमा बनाएको त्रिशुली बाँध इच्छाकामना गाउँपालिका र वडा नं. ४ का बासिन्दाको अवरोधपछि ठेकेदारले अहिले लेबाटारस्थित घाटमा धमाधम अर्को बाँध लगाइरहेको छ । त्रिशुलीको स्वतन्त्र बहावमा अबरोध गर्न नहुने इच्छाकामना गाउँपालिका तथा स्थानीयबासीको भनाइ छ ।

त्रिशुली नदीमाथि ह्युमपाइप बिछ्याई अस्थायी(कच्ची) बाटो बनाएर नदीजन्य सामग्री ओसार्न नपाइने भन्दै चितवनको इच्छाकामना गाउँपालिकाले पत्र लेखेर अबरोध गरेको थियो ।
‘सहिद लखन गाउँपालिकाले नदीजन्य सामग्री ढुवानी गर्ने बाटोका लागि सहजिकरण गरिदिन भनेर हामीलाई पत्र लेखेको थियो ।

त्यही आधारमा हामीले सुरुमा सहमति दिने निर्णय गरी पत्राचार गरेका थियौँ’, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भने, ‘तर पछि हाम्रोतर्फको सामग्री प्रयोग गर्न थाले, अनि हामीले फेरि अर्को पत्र लेखी काम रोकेका हौँ ।’ यस बीचमा कुरिनटारका स्थानीयबासीले आफ्नो मसानघाट नाश हुने भनी गुनासो गर्न थालेकाले पनि काम रोक्न बाध्य भएको उनले बताए । त्यहाँ अबरोध भएपछि पुनः सोको पाँचसय मिटर तल लेवाटारमा नदी थुन्ने प्रयास भइरहेको उनले बताए ।

नदीजन्य सामग्री ओसार्न प्रयोग गर्न दिएको बाटो कुरिनटारका बासिन्दाको मसानघाट भएकाले सो बाटो प्रयोग गर्न नदिएको सो क्षेत्रबाट निर्वाचित बाग्मती प्रदेश सांसद कृष्ण सिलवालले बताए । ‘नदी भनेको मानव सभ्यता हो । नदीको बहाव छेकथुन गरी, धार परिवर्तन गरेर उत्खनन वा ओसारपोसार गर्नु कानून विपरीत छ’, सिलवाल भन्छन्, ‘तर अहिले धमाधम नदी थुन्ने काम भइरहेको छ । जम्मा २० मिटर बाँकी राखेका छन् ।

यसले त यस आसपासका बासिन्दा र ¥याफ्टिङ लगायतका पर्यटन व्यवसायमा दीर्घकालीन असर गर्छ ।’ ठेकेदारले कसैको कुरा नसुनी नदीको प्रवाह छेक्ने काम गरिरहेको उनको गुनासो छ ।
स्थानीयबासीलाई थाहापत्तै नदिई ठेकेदारले गाउँको छेउबाट गिटी बालुवा झिक्न थालेको स्थानीय रनबहादुर राना मगरको भनाइ छ । ‘अठार सालमा पनि नदी गाउँसम्म आएको थियो ।

५० सालमा पनि आएको थियो । अहिले जेसिबी लाएर दुई, तीन मिटर गहिरो खनेर गिटी, बालुवा निकालेपछि छ गाउँलाई बरबाद बनाइहाल्छ नि’, उनले भने, ‘हामीलाई सोधखोज पनि भएन । सार्वजनिक सुनुवाई पनि गरेन । जेसिबी आएपछि मात्र थाहा भयो । काम सुरु गरेको आज ४५ दिनजति भयो । हामी सानोतिनो मान्छेले जति भने पनि, जति रोइकराइ गरे पनि काम गर्ने मान्छेले सुन्दैनन् । माथि सोर्सपोर्स भएका मान्छेले नछोड है भनेका होलान् । हाम्रो कुरा कसले सुन्थ्यो । पालिकाले दिएको हो, जसरी पनि उठाउने हो भन्छन् ।’

ठेउवाटारमा करिब १२५ घरधुरी छ । उनीहरुमध्य ८५ जनाले हस्ताक्षर गरेर गाउँपालिकामा पत्र पनि पठाएको राना मगरले बताए ।

गत माघमा २५ लाख २८ हजार रुपैयाँमा राजस्व तिरेर सो घाटबाट छ हजार घनमिटर बालुवा उत्खनन गर्ने सहिद लखन गाउँपालिका र सिन्धुपाल्चोकको त्रियुगा निर्माण सेवा बीच ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्