
उत्तरी गोरखामा हिमपात, तल्लो भेगमा पनि चिसो बढ्यो(फोटो फिचर)
उत्तरी गोरखामा हिमपात भएको छ । बुधवार बिहान करिब सात बजेदेखि दिउँसो २ बजेसम्म हिउँ परेको चुमनुब्री गाउँपालिकाको सामागाउँ स्वास्थ्य चौकीका लक्ष्मण कार्कीले बताए ।
यसवर्ष अहिलेसम्मको धेरै हिउँ बुधवार परेको उनले बताए । ‘केहीदिन अघि पनि हिउँ परेको थियो तर अहिले परेको हिउँ करिब एक फिट जमेको छ’ उनले भने ।

हिमपातसँग चिसो अत्याधिक बढेपछि स्थानीयको दैनिकीमा भने समस्या भएको छ ।
सर्वसाधारण घरभित्रै छन् भने हिमपातका कारण पशुबस्तु चरनमा पनि समस्या भएको छ ।
चुमनुब्री गाउँपालिकाको छेकम्पारमा पनि हिमपात भएको छ ।

उत्तरी गोरखामा हिउँ परेसँगै गोरखाको तल्लो क्षेत्रमा पनि बुधवार चिसो बढ्यो । अन्य दिनजस्तो चर्को घाम लागेन । बिहानैदेखि जाडो बढेको थियो ।
गोरखा सदरमुकाम लगायत आसपासका क्षेत्रमा सर्वसाधारणको चहलपहल कम देखिन्थ्यो । बिहानपख तल्लो क्षेत्रमा समान्य वर्षात समेत भएको थियो ।

तस्बिर : लक्ष्मण कार्की




