
आजदेखि भीमवीरेश्वर आद्यात्मिक महोत्सव तथा सप्ताह ज्ञान महायज्ञ सुरु (फोटोफिचर)
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ९ बुंकोटघाटमा मंगलवारदेखि भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका बिच महायज्ञको सुरुवात गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले हिन्दु धर्म प्रतिको सबैको सम्मान, आस्था र विश्वास रहेकाले यसको संरक्षण प्रवद्र्धन गर्दै जानुपर्ने बताए । ‘हाम्रो धर्म, संस्कृति, दर्शन संसारका अन्य मुलुकमा भएका धर्म, संस्कृति भन्दा उत्कृष्ट छ’ नेता पाण्डेले भने ‘यसको रक्षा गर्नु सबैको कर्तव्य हो ।’भीमवीरेश्वर महादेव मन्दिर स्थानान्तरणका लागि स्थानीय, प्रदेश र संघ सरकारले पहल गर्नुपर्ने र आफुले पनि सक्दो पहल गर्ने उनले बताए ।
गण्डकी प्रदेशमा अब नयाँ सरकार आउन सक्ने बताउँदै मन्दिर स्थानान्तरणका लागि समितिले प्रस्तावना तयार पारेर बुझाउन समेत उनले अनुरोध गरे ।
कार्यक्रममा महायज्ञमा मुख्य वाचक प्रवीण पण्डित दीनवन्धु पोखरेलले भिमसेन थापाको सम्मान र मन्दिरको संरक्षणका लागि महायज्ञ आयोजना गरिएको बताए । साथै यस्तै प्रकारका महायज्ञबाट पूर्वीय दर्शनको आयाम जनमानस फैलाउनुपर्नेमा समेत उनले जोड दिए ।
महायज्ञको आयोजक नामजुङ सेवा समाजका अध्यक्ष बञ्जाराले भीमवीरेश्वर महादेव मन्दिरलाई उपयुक्त स्थानमा स्थानान्तरणका पहिलो चरणको कार्यक्रम स्वरुप महायज्ञ संचालन गरिएको बताए ।
बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने मन्दिरलाई नियम, कानुन र सबै सरसल्लाह अनुसार नै उपयुक्त स्थानमा स्थानान्तरण गर्ने उनको भनाई छ । साथै महादेव मन्दिर स्थानान्तरणका लागि आवश्यक जग्गा खरिद तथा मन्दिर निर्माण गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको अध्यक्ष बञ्जाराले बताए ।
मंगलबारबाट सुरु भएको महायज्ञ सात दिन सम्म चल्ने समितिका संयोजक सुरेन्द्रबहादुर थापाले जानकारी दिए । मंगलबार पहिलो दिन मन्दिर परिसरबाट कलशयात्रा भएको थियो । सो कलशयात्रा त्रिवेणीमा पुगेर पुनःमन्दिर परिसरलाई परिक्रमा गरेर महायज्ञमा सहभागी भएका थिए ।
महायज्ञमा मुख्य वाचक प्रवीण पण्डित दीनवन्धु पोखरेल रहने छन् भने सहायक वाचक तथा अन्य नौ जना व्राह्मण रहने बन्जाराले जानकारी दिए ।कार्यक्रममा आयोजक नामजुङ सेवा समाजका अध्यक्ष शिव वञ्जरा, इन्द्रेणीका कार्यक्रम संचालक कृष्ण कंडेल, साहित्यकार तथा पत्रकार नवराज लम्साल, जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, सहिदलखन गाउँपालिकाका उपाध्यक्ष इन्द्रिरा तिवारी, वडा नं ९ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
तस्बिरहरु हेनुहोस्
















