
माओवादी केन्द्रको गण्डकी प्रदेश बिभागमा गोरखाका चारजना प्रमुख
नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले विभिन्न विभाग गठन गरेको छ । प्रदेश विभाग गठन गरी सोको प्रमुख र उपप्रमुख समेत तोकेको छ ।
निर्धारण गरिएका ३० विभागमध्य चारवटा विभागको नेतृत्व गोरखाका नेताले सम्हालेका छन् । प्रचार प्रसार विभागको नेतृत्व दीपक श्रेष्ठ, ‘जलन’ले सम्हालेका छन् । उनी रेडियो मनास्लुका स्टेशन मेनेजर तथा प्रेस सेण्टरका केन्द्रीय कमिटीका उपमहासचिव समेत हुन् । त्यस्तै शिक्षा तथा मानवस्रोत विभागको नेतृत्व ध्रुव भट्टले सम्हालेका छन् ।
भट्ट यसअघि एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष तथा शिक्षक युनियनका अध्यक्ष समेत हुन् । त्यस्तै संगठन विभागको नेतृत्व पनि गोरखाली नेता जगन्नाथ खनालले सम्हालेका छन् । सो समितिको सदस्यमा पार्टीका जिल्ला समन्वय समितिका सचिव तथा गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना रहेका छन् ।
त्यस्तै सहकारी तथा गरिबी निवारण विभागको नेतृत्व पनि गोरखाका राजकुमार कोइरालाले सम्हालेका छन् । खानेपानी तथा सरसफाइ विभागको उपप्रमुखको जिम्मेवारीमा गोरखाकै जीवन गुरुङ, प्रकाशन विभागको उपप्रमुखमा अकुर तिमिल्सिना ‘आयाम’ र जलस्रोत, सिँचाइ तथा उर्जा विभागको प्रमुखमा सुदीप नगरकोटी रहेका छन् ।




