| बुधबार, कार्तिक २५, २०८३

बिहे नहुँदै ससुराली घरमा सुत्न जाने प्रचलन

शिव उप्रेती :

धार्चे २ का १८ बर्षका सङराजा र १६ बर्षकी सङ्मेन्दो गुरुङको हालसालै विधिवत विवाह भयो । कक्षा ९ मा पढ्ने सङ्मेन्दो र कक्षा ११ मा पढ्ने सङराजा बीच एकबर्ष अघिदेखि प्रेम सम्बन्ध थियो । उनीहरु मामाकी छोरी र फुपूका छोरा हुन् ।
आफूहरुको प्रेम सम्बन्धबारे दुवैजनाले घर परिबारमा जानकारी गराएका थिए, तर यो बर्ष सङराजाको ल्हो(वर्ग) चलिरहेकाले दुलही भित्र्याउन मिलेन । त्यसैले उनी आफै सङ्मेन्दोको घरमा सुत्न–बस्न जान थाले । छोरीको मन मिलेको मान्छे सुत्न–बस्न आउँदा अभिभावकले थुनछेक गरेनन् ।

आफ्नी छोरीचेलीको मन मिलेको मान्छे घरमा सुत्न–बस्न आउँदा स्वागत गर्ने सङ्मेन्दोको अभिभावकको मात्र होइन, यस भेगको पुरानै चलन हो ।

बर्ग सकिएपछि भित्र्याउने तयारी हुँदै थियो तर जब सङ्मेन्दोले बच्चा जन्माइन्, तब बर्गको दोष काटियो भन्दै रातारात उनले सङ्मेन्दोलाई भित्र्याए ।

बर्ग चलेको बर्ष नयाँ दुलही भित्र्याउन नहुने तर बच्चा जन्मिएपछि बर्ग चलेको भए पनि दोष मेटिने भन्दै भित्र्याउने चलन रहेको स्थानीय मार्सिङ गुरुङको भनाइ छ ।

छोरीको मन मिलेको मान्छे राती छोरीसित सुत्न बस्न आउँदा अभिभावकले बाधा बिरोध नगर्ने स्थानीय गर्बु गुरुङ बताउँछन् । ‘केटा र केटीको मन मिलेपछि राती सुत्न मात्र होइन, केटाहरु दिउँसो घरायसी काम गर्न पनि जाने चलन छ’, उनी भन्छन्, ‘केटा र केटीको मायाप्रेम भएपछि विवाह हुन्छ । विहे नहुञ्जेल केटाहरु केटीको घरमा घरायसी काम(घाँस दाउरा गर्ने, पानी बोक्ने, खेतबारीको काम) गर्न पनि जान्छन् । अनि राती सुत्न, बस्न पनि केटीको घरमा जान्छन् । केटी गोठमा बस्ने रहेछ भने केटा पनि गोठमै बस्न जान्छन् ।’ यो गाउँको परापूर्वदेखि चलिआएको चलन रहेको उनले बताए ।

बर्ग खुलेपछि जैसीले जुराएको लगनमा विवाह गर्ने चलन रहेको उनको भनाइ छ । ‘केटाले नभित्र्याउँदै केटी सुत्केरी हुने दिन आयो भने भर्खरको कलिलो सुत्केरी हतार हतार गरेर भित्र्याउने चलन छ । बच्चा जन्मिएपछि बच्चाले दोष काट्छ भन्ने जनविश्वास छ ।’ तर त्यतिबेला केटा काम विशेषले घरमा छैन भने पनि केटाको बुबाले बुहारी भित्र्याउने चलन रहेको उनले बताए ।

यस्तो परम्परा धार्चे गाउँपालिका वडा नं. १, २, ६ का सबै गाउँबस्तीमा र आरुघाट गाउँपालिका वडा नं. १ का केही गाउँहरुमा पनि छ । यहाँका सबै गाउँमा मायाप्रेम गरेर मात्र विवाह गर्ने चलन छ ।

गाउँको परम्परा संस्कृतिलाई संरक्षण गर्नुपर्ने अबस्था एकातिर छ, संस्कृतिसंगै जोडिएर आएको विकृतिले यहाँका सचेतवर्ग हैरान छन् । ‘मायाप्रेम बसेकाहरु, बिहे गर्ने सर्तमा उठबस गरेको त ठिकै छ, तर यहाँ अर्कै बिकृति पनि व्यप्त छ’, अर्का स्थानीय कम्रक्ष गुरुङ भन्छन्, ‘यहाँ त १४, १५ बर्ष लागेपछि केटाहरु रातिराति केटीको घरघर चाहार्दै हिड्ने गर्छन् । रामरमिता गरेर रात काट्ने चलन छ । स्कूल पढ्ने भर्खरका केटाकेटीहरु यतातिर लागेपछि धेरै विकृतिहरु हुने गरेको छ । नियन्त्रण गर्न गाह्रो भएको छ ।’

स्कूलको पढाइमा रटिने बेला रासलीलातिर लागेपछि धेरैको भविष्य अन्यौल भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘छाडा संस्कृतिका कारण गाउँमा बालबिबाह गर्नेको संख्या पनि धेरै छ’, उनी भन्छन्, ‘केही सचेत युवाहरुले यो छाडा परम्पराले धेरै बिकृति भयो, अहिलेको युगमा यस्ता बिकृति अन्त्य हुनुपर्छ भनेर धेरै आवाज उठाएको पनि हो, तर अन्त्य गर्न सफल भएनौँ ।’ सहरतिर गएर पढे, लेखेकाहरुको जोडबलका कारण धेरथोर न्यूनिकरण भए पनि यस्तो परम्पराले जरा गाडेर बसेको उनको भनाइ छ ।

१३, १४ बर्ष लागेपछि रोदी बस्ने, जथाभावी यौन सम्पर्क गर्ने, सानै उमेरमा बिबाह गर्ने, बीचैमा पढाइ छाड्ने समस्याले गाउँमा प्रगति हुन नसकेको अर्की स्थानीय सुनेमेन्दो गुरुङ बताउँछिन् । अहिलेको प्रतिस्पर्धाको जमानामा गाउँका युवा पुस्ता भने विकृतिमा जकडिएर भुलिरहेको उनको गुनासो छ । ‘यो चलन हटाउनु पर्छ भनेर धेरै पटक कचहरी बसेर विभिन्न नीति नियमहरु पनि बनाएका हौँ’, उनी भन्छिन्, ‘तर केही समय मात्र चल्छ अनि पुरानै पारा आइहाल्छ ।’ विद्यमान विकृति हटाउन युवा पुस्ता नै सशक्त रुपमा लाग्नुपर्नेमा उनको जोड छ ।

किशोर उमेरमै छाडा र असुरक्षित यौन सम्पर्कका कारण अवैध गर्भ रहने समस्या बग्रेल्ती छ । ‘सहर बजारतिर जस्तो विभिन्न साधनको प्रयोग गर्ने, सुरक्षित ढंगले यौन सम्पर्क गर्ने भन्ने हुदैन । असुरक्षित यौन सम्पर्कले बिहे नहुँदै गर्भ धारण गरेका घटना धेरै छन्’, स्थानीय लर्सिङ गुरुङ भन्छन्, ‘गर्भ रहेपछि कसैको त उही केटासित बिहे हुन्छ, कसैको भने सम्बन्धित व्यक्तिसित बिहे नहुन पनि गर्छ । त्यसैले बुबाको ठेगान नभएका बच्चाहरु पनि गाउँघरमा छन् । अहिले पनि हाम्रो गाउँमा सात आठजना त्यस्ता बालबच्चाहरु छन् ।’ कुनै किशोरीले त्यस्ता बच्चा माइतीघरमै छाडेर अर्को केटासित बिहे गरेर जान्छन् । कोही भने माइती घरमै बच्चा पालेर बसिरहेका पनि भेटिन्छन् । यस्तो घटना आफ्नो गाउँमा सामान्य जस्तै भएको उनको भनाइ छ ।

आफ्नो गर्भ बोकेर बच्चा जन्माएकी केटीसित बिहे नगरे पनि केटाले बच्चाको जन्मदर्ता तथा नागरिकतामा बुबाको नाम लेख्नुपर्ने ठाउँमा आफ्नै नाम लेखाउने गर्छन् । ‘आमाको नामबाट मात्र पनि जन्मदर्ता हुँदो रहेछ’, उनले भने, ‘धेरैजसोचाहिँ गाउँका भद्र भलादमी बसेर अंशबण्डा जे जसो भए पनि जन्मदर्ता, नागरिकतामा बुबाको नाम कायम गर्न लगाउने गर्छन् ।’ राज्यले विभिन्न कानूनी व्यवस्था गरेको भए पनि परम्पराको नाममा गाउँमा बेथिति रहेको उनको भनाइ छ ।

अभिभावकको लापार्बाहीले यस भेगका बालबालिका बिकृतिमा चुर्लुम्म डुबेका छन् । बुबाआमा मूलघरभित्र सुत्ने तर छोरीचेलीलाई बाहिर पिँढीमा कोठा बारेर सुताउने गर्दा केटाकेटी बिग्रिने अबस्था विद्यमान रहेको कतिपयको टिप्पणी छ । ‘बुबा आमा मूलघरभित्र सुत्छन् । उमेर पुगेकी छोरीलाई एक्लै बाहिर खोपीमा सुताउँछन्’, धन्सु गुरुङ भन्छन्, ‘अनि राती केटी खोज्दै हिँड्ने केटा र केटीहरुलाई बिग्रिने वातावरण मिलिहाल्छ । एकदिन, दुईदिन गर्दै केटाकेटी बिग्रिहाल्छन् । झोलामा कापीकलम बोकेर हिँड्नुपर्ने उमेरमा डोकोमा बालबच्चा बोकेर हिड्नेहरु धेरै छन् ।’ यस्तो चलन हटाउनु पर्छ भनेर भित्र मनैदेखि नलागेका कारण पनि हटाउन नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्