| बुधबार, कार्तिक २५, २०८३

सहिदलखन र इच्छाकामना गाउँपालिका बीच किचलो, ठेउवाटारघाटको बालुवा ओसार्न इच्छाकामना गाउँपालिकाद्वारा अबरोध

सहिदलखन गाउँपालिका ४ ठेउवाटारघाट(करनघाट) बाट नदीजन्य सामग्री ढुवानी गर्न चितवनको इच्छाकामना गाउँपालिकाले अबरोध गरेको छ । त्रिशुली नदीमाथि ह्युमपाइप बिछ्याई अस्थायी(कच्ची) बाटो बनाएर नदीजन्य सामग्री ओसार्ने प्रयास गरे पनि सो गाउँपालिकाले पत्र लेखेर अबरोध गरेको हो ।


‘सहिद लखन गाउँपालिकाले नदीजन्य सामग्री ढुवानी गर्ने बाटोका लागि सहजिकरण गरिदिन भनेर हामीलाई पत्र लेखेको थियो । त्यही आधारमा हामीले सुरुमा सहमति दिने निर्णय गरी पत्राचार गरेका थियौँ’, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भने, ‘तर पछि हाम्रोतर्फको सामग्री प्रयोग गर्न थाले, अनि हामीले फेरि अर्को पत्र लेखी काम रोकेका हौँ ।’ यस बीचमा कुरिनटारका स्थानीयबासीले आफ्नो मसानघाट नाश हुने भनी गुनासो गर्न थालेकाले पनि काम रोक्न बाध्य भएको उनले बताए ।


नदीजन्य सामग्री ओसार्न प्रयोग गर्न दिएको बाटो कुरिनटारका बासिन्दाको मसानघाट भएकाले सो बाटो प्रयोग गर्न नदिएको सो क्षेत्रबाट निर्वाचित बाग्मती प्रदेश सांसद कृष्ण सिलवालले बताए । ‘यहाँका मान्छेहरु यही घाटको सभ्यतामा निर्भर छन् । यदि त्यहाँको उत्खननका कारण नदीले धार परिवर्तन ग¥यो भने मसानघाट पनि रहनेछैन, ठौवाटार पनि जोखिम हुनेछ । यहाँका होटल व्यवसायी, ¥याफ्टिङ व्यवसाय केही रहनेछैन’, उनले भने, ‘त्यसैले हामीले अबरोध गरेका छौँ । यो कुनै तहमा सहमति भएपनि हामी छोड्नेछैनौँ । जुनसुकै तहमा सहमति भए पनि यहाँका स्थानीयले छेक्नेछन्, किनभने यसको पूर्णअधिकार स्थानीयबासीमा छ ।’


सहिद लखन गाउँपालिका वडा नं. ४ का वडा सदस्य कमल दराई पनि उत्खनन तथा ओसारपोसारको बिपक्षमा छन् । ‘हामीलाई थाहै नदिई आइईई भयो । थाहै नदिई ठेक्का भयो’, दराई भन्छन्, ‘जानकारी भएको भए त हामी त्यतिबेलै काम रोक्थ्यौँ किनभने त्यहाँ बालुवा झिकेपछि नदीले धार परिवर्तन गर्नेछ अनि हाम्रो ठेउवाटारको बस्तीलाई पनि जोखिम हुन्छ ।’


सो घाटबाट छ हजार घनमिटर बालुवा उत्खनन गर्ने गरी गत माघमा सहिद लखन गाउँपालिका र सिन्धुपाल्चोकको त्रियुगा निर्माण सेवा बीच ठेक्का सम्झौता भएको थियो । त्यहाँको बालुवा ठेकेदार कम्पनीले त्रिशुलीमा ह्यूमपाइप बिछ्याएर अस्थायी ‘पास’ बनाई ढुवानी गर्ने सहमति भएको थियो । सहिदलखन गाउँपालिका र ठेकेदार कम्पनी बीच २५ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भए पनि इच्छाकामना गाउँपालिकाले अबरोध गरेपछि काम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्