
गोरखामा कांग्रेस, एमाले र माओवादीको संगठन सुदृढिकरण अभियान संचालनमा
गोरखामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संगठन सुदृढिकरण अभियानमा जुटेका छन् । कांग्रेसले जिल्ला कार्य समितिको निर्णयबाट जिल्ला स्तरीय नेताहरुलाई अभियानमा खटाएको छ भने एमालेले केन्द्रीय कमिटिको निर्णय अनुसार कार्यक्रम गरिरहेको छ । माओवादी केन्द्र पनि पार्टी केन्द्रको नीतिअनुसार ‘जनतासंग पार्टी’ अभियानमा जुटिरहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्रासरुट अभियानको सुरु गर्दै वडास्तरमा अभियान संचालन गर्ने घोषणा गरेका थिए । सोहीअनुसार नेकपा एमाले गोरखाले पनि ग्रासरुट अभियान संचालन गरिरहेको छ ।
नेपाली कांग्रेस गोरखाले पनि पार्टी संगठन सुदृढिकरण अभियान संचालन गरेको छ । माघ २५ देखि गोरखाको चुमनुब्री बाहेकका सबै पालिकामा अभियान चलिरहेको कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए ।
माओवादी केन्द्र पनि गत फागुन १४ गतेदेखि प्रदेश क्षेत्र, गाउँपालिका तथा टोलटोलमा अभियानमा खटिएको छ ।
चुमनुब्रीबाहेक १० वटै पालिकामा संगठन सुदृढिकरण अभियानमा खटिएको कांग्रेस सचिव थापाले बताए ।
‘फागुन महिनाभित्र १० वटै पालिकाको वडा, टोलस्तरमा कार्यक्रम गर्ने गरी अहिले अभियान चलिरहेको छ’, उनले भने, ‘जिल्ला स्तरका नेताहरु संगठन सुदृढिकरण अभियानमा लाग्नुभएको छ ।’ पुस ९ गते बसेको जिल्ला कार्य समितिको बैठकले प्रत्येक पालिका र वडामा अभियान संचालन गर्न प्रतिनिधि खटाउने निर्णय गरेको थियो ।
पालिकाको बैठक राखेर गत बैशाख ३० गतेको निर्वाचनको समिक्षा गर्ने, संगठनको अवस्थाको विषयमा छलफल गर्ने, वडा र टोल कार्य समितिको बैठक बसेर समस्या के छन् ? वडा भित्र संगठन सुदृढिकरण गर्न के गर्नुपर्छ ? अध्ययन प्रतिवेदन तयार गर्ने, टोल कार्य समिति नबनेको भए गठन गर्ने जस्ता जिम्मेवारी प्रतिनिधिलाई तोकिएको सचिव थापाले बताए ।
विकास निर्माण सम्बन्धी जानकारी लिई भाबी योजना तय गर्ने, पार्टीकोतर्फबाट निर्वाचित जनप्रतिनिधिसँग बिकास निर्माण सम्बन्धी छलफल गर्ने, भातृ तथा शुभेच्छुक संस्थाको छुट्टै बैठक राख्ने, शिक्षक संघसँग बैठक गर्ने, नियमित बैठक क्यालेन्डर तय गर्ने गरी जिल्ला पार्टीले प्रतिनिधिहरुलाई जिम्मेवारी तोकेको जनाएको छ ।
‘कार्यक्रम सकेपछि फागुन ३० गते हरेक पालिकामा तोकिएका प्रतिनिधिले पार्टीलाई प्रतिवेदन पेश गर्नुपर्छ’ सचिव थापाले भने ‘सोही अनुसार जिल्ला पार्टीले संगठन सुदृढिकरणको अभियान संचालन गर्छ ।’
ग्रासरुट अभियान अन्तरगत नेकपा एमालेले गोरखाको ९४ वटै वडामा कार्यक्रम गर्ने जनाएको छ । फागुन १४ गते जिल्लास्तरीय कार्यक्रम गरी गोरखामा अभियान सुरु गरिसकिएको एमाले गोरखाका सचिव काजिराम रोकाले बताए । अहिले गाउँपालिका स्तरमा ग्रासरुट अभियान चलिरहेको बताउँदै उनले भने, ‘पहिलो चरण पालिकामा अभियान चल्छ, पालिकाको बैठकले वडाको कार्यक्रम तय गर्छ, र सबै वडामा ग्रासरुट अभियान चल्छ ।’
गोरखामा स्थायी कमिटी सदस्य किरण गुरुङको उपस्थितिमा ग्रासरुट अभियान सुरु भएको थियो । नेकपा एमाले केन्द्रीय कमिटिका सदस्यहरु तिलक महत, किशोरबिक्रम मल्ल, टुका हमाल, रवीन्द्र अधिकारीलाई गोरखामा खटाएको छ । पार्टीका जिल्ला इन्चार्ज, सह इन्चार्ज, प्रदेश सदस्यहरु सबै खटिएको सचिव रोकाले बताए ।
‘यो अभियान बैशाख १० गते सम्म चल्नेछ’, सचिव रोकाले भने । १५ गते आरुघाट र भीमसेन, १६ गते गोरखा नगरपालिका, धार्चे गाउँपालिका, शहीदलखन गाउँपालिका र १७ गते अजिरकोट गाउँपालिकामा संगठन सुदृढिकरण तथा बिस्तार अभियान संचालन भएको र क्रमश अन्य पालिकामा पनि हुने उनले बताए । ‘हरेक वडामा एकदिने कार्यक्रम हुनेछ, उक्त कार्यक्रममा जिल्ला, पालिका प्रदेश कमिटिका साथीहरु सहभागी हुनुहुनेछ’, एमाले गोरखाका सचिव रोकाले भने ।
नेकपा माओवादी केन्द्रले पनि गत फागुन १४ गतेबाट ‘जनतासँग पार्टी भेटघाट’ कार्यक्रम सुरु गरेको छ । केही दिनअघि बसेको प्रदेशको छैठौं पूर्ण बैठकले केन्द्रीय योजनाअनुसार प्रदेशमा अभियान चलाउने निर्णय गरेको हो । यस क्रममा पार्टीका सबै नेता, कार्यकर्ता २ महिना जनता, सहिद परिवार, घाइते र बेपत्ता योद्धाका परिवारका बीचमा गएर पार्टी पुनःनिर्माणका बारेमा सुझाव लिनेछन् ।
दुई महिनासम्म चल्ने अभियानमा जिल्ला, पालिका हुदै वडा–वडा सम्म पार्टीका विभिन्न वैठक, छलफल गरी जनताबाट राय सुझाव लिने कार्य हुने नेकपा माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमुले जानकारी दिए । अभियान अन्तरगत गोरखा क्षेत्र नं १ मा पशुराम रम्तेलको नेतृत्वमा टोली खटिएको छ ।
क्षेत्र नं १ को प्रदेश क मा कमला नहर्की र ख मा लेखबहादुर थापाको नेतृत्वमा अभियान संचालन भइरहेको छ । नम्बर २ मा जिल्ला इन्चार्ज अमर तुमको नेतृत्वमा अभियान संचालन भइरहेको छ । क्षेत्र नं २ को क मा खोपबहादुर कँडेल र ख मा दिपक देवकोटाको नेतृत्वमा अभियान संचालन भइरहेको छ ।
माओवादीले अभियानका लागि ‘टिप्पणी सुझाव र संगठनका लागि नेता, कार्यकर्ता र जनतासँग भेट गरौं, विचार र नेतृत्वका आधारमा संगठित तागत निर्माण र समृद्धिमा जोड गरौं’ भन्ने नारा अघि सारेको छ । २ महिनाको अभियानमा माओवादीले स्थानीय तह जितेका ठाउँमा पार्टीको चुनावी प्रतिबद्धतासहितको समाजवादको आधार तयार पार्ने योजना लागू गर्न योजनाबद्ध काम गर्ने, विजय हासिल नभएका ठाउँमा जनताका समस्या हल गर्न पालिकाहरूमा पहल गर्ने भएको छ ।
जनयुद्धका पूर्णकालीन र पार्टीका एकता भएपछि सबै पुराना छुटेका कार्यकर्तासँग र जेल हिरासतमा परेकाहरूको सूची तयार पारी घर घरमा गएर भेटघाट गर्ने, सुझाव लिने र पार्टीमा पुनः संगठित गर्ने अभियानको योजना रहेको इन्चार्ज तमुले जानकारी दिए ।
चुनावपछि यही अभियानबाट जनताको घरदैलोमा पुगी प्रत्यक्ष भेटघाट गर्ने, उनीहरुको समस्या, गुनासोहरु टिपोट गर्ने उनले बताए ।




