| बुधबार, कार्तिक २५, २०८३

गोरखालाई अहिले ठूलो अवसर छ, सबै मिलेर सदुपयोग गरौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखालाई अहिले ठूलो अवसर प्राप्त भएको बताएका छन् ।
‘जिल्लाभरका सबै पालिका प्रमुखहरु, जनप्रतिनिधिहरुलाई तत्काल गर्नुपर्ने काम, मध्यकालीन र दीर्घकालीन ठूला परियोजना के मा ध्यान दिनुपर्छ ती परियोजनालाई लिपिबद्ध गरेर ल्याउनुभयो भने गोरखा जिल्लालाई ठुलो अवसर छ’,सहिद दिलबहादुर रम्तेलको २८ औँ स्मृति दिवसको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले भने ।
यस्तो अवसर सँधै प्राप्त नहुने बताउँदै उनले सबैले मिलेर यो अवसरको सदुपयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री, उपप्रधानमन्त्री गोरखाकै भएको स्मरण गराउँदै उनले यस्तो बताएका हुन् ।

गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएपछि यस ठाउँका जनतालाई पहिलो पटक भेट्न पाएकामा खुशी बाँड्दै उनले चुनावी अभियानका क्रममा गरिएको बाचा पूरा गर्ने आश्वासन दिए ।
सडक कालोपत्रे गर्ने, बूढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउने, बेनिघाट—लार्के सडक निर्माण गर्ने, उत्तर–दक्षिण करिडोर, पालुङटार एयरपोर्ट संचालन, रबर उद्योग संचालन लगायतका विषय आपूmलाई स्मरण भइरहेको उनले बताए ।

जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय सहिद घोषणा गरिने प्रधानमन्त्री दाहालले बताएका छन् । उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका सबै सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गर्ने सोच बनाएको छु ।’ यो पनि उनीहरुप्रतिको सम्मान हुने उनले बताए ।

२०६४ सालमा प्रधानमन्त्री हुँदा राष्ट्रिय सहिद घोषणा गरेपनि राजपत्रमा प्रकाशित नभएको बताउँदै उनले त्यतिबेलाको माईन्यूट खोजेर पत्ता लागेपछि राजपत्रमा नामावली प्रकाशित गरिने बताए । त्यसअघि प्रधानमन्त्री दाहालले भने अहिले पहिलो पटक फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने भनेर नेपाल सरकारबाट निर्णय भएको छ,सहिद, बेपत्ता योद्धाप्रति यो एउटा सम्मान हो ।’

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित बिधेयक पारित भएपछि सहिद तथा बेपत्ता, घाईतेहरुलाई परिपुरण दिन, बालबच्चाको भरण पोषण, स्वास्थ्य उपचारको ब्यवस्थाले केही मलम पट्टी लाग्ने उनले बताए ।
‘पहिल्यै हुनुपथ्र्यो,सपना ढिलै भएपनि पूरा हुँदैछ’, प्रधानमन्त्री दाहालले भने, ‘ढिलै भएपनि प्रक्रिया अघि बढ्दैछ, यसको नेतृत्वगर्ने अवसर मेरै पालामा अहिले प्राप्त भएको छ, देशभरिका युद्ध पिडितकालागि यो खुशीको कुरा हो ।’

आपूm प्रधानमन्त्री भएपछिअर्थतन्त्रमा दुई महिना नबित्दै सुधारको संकेत देखिएको दावी उनले गरे । केही ठूला परियोजना र सुशासनमार्फत प्रधानमन्त्रीको तेस्रो कार्यकाल इतिहासमा सम्झने खालको गर्न लागेको उनले बताए ।

देशमा राजनीतिक उदारचढाब भईरहने बताउँदै उनले भोट माग्दा जुन दल मिलेका थिए सरकार बन्दा फरक परिस्थिति भएको र राष्ट्रपतिको चुनावसम्म आउँदा नयाँ परिवेश बनेको उनले बताए । ‘हिजो मात्रै राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा परिस्थिति फेरिएको छ, एमालेसँगपनि लगातार कुरा भईरहेका छ, २५ गतेसम्म जाँदा सर्वसम्मत हुन र नभएपनि नयाँ ढंगले अघि बढिनेछ’ उनले भने ।

प्रधानमन्त्री दाहालले तेस्रो राष्ट्रपति रनिङ शिल्डको पुरस्कार शिक्षा तथा सामाजिक विकास समिति संयोजक कृष्ण गुरुङलाई हस्तान्तरण गरेका थिए ।

नेपाली सेनाको हेलिकप्टरबाट बारपाक सुलिकोट आएका उनी त्यहाँबाट गोरखा २ कै पालुङ्टारमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । उनीसँगै माओवादी केन्द्रका सचिव हितराज पाण्डेपनि सहभागी थिए । कार्यक्रममा बोल्दै पाण्डेले सहिदको सपना र बलिदान खेर जान नदिने प्रतिवद्धता जनाए । कुरा धेरै र ब्यवहारमा काम कम गर्ने प्रकारको रहेको बताउँदै उनले जनताको सेवामा धेरै लाग्न कार्यकर्तालाई सुझाब दिए ।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा दिलबहादुर रम्तेलका आमा सरिमाया रम्तेल र बुबा सेते रम्तेल लगायत परिवारलाई प्रधानमन्त्री दाहालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । २०५२ साल फागुन १४ गते १० वर्षको उमेरमा प्रहरी चलाएको गोली लागेर मृत्यू भएको थियो ।

सूर्यज्योति माविका शिक्षक वीरबहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेपछि विद्यार्थीले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीले गोली चलाउँदा रम्तेलको मृत्यू भएको थियो ।
माओवादीले दिलबहादुर रम्तेललाई प्रथम सहिदको रुपमा सम्मान गर्दै आएको छ । गाउँपालिका अध्यक्ष बिष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्