
गोरखामा एमालेको मिसन ग्रासरुट अभियान सुरु
गोरखामा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु भएको छ । एमाले स्थायी कमिटि सदस्य किरण गुरुङको उपस्थितिमा जिल्ला सदरमुकाममा आइतवार भएको कार्यक्रममा अभियानको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै स्थायी कमिटि सदस्य गुरुङले माओवादीको अस्थिर गतिविधिका कारण देशमा राजनीतिक उतारचढाव देखापरेको बताए । नागरिकको विकास र समृद्धिको चाहना पूरा गर्न एमालेले देशको नेतृत्व गर्नु जरुरी रहेको भन्दै उनले ग्रासरुट अभियान त्यसैको प्रस्थान विन्दू भएको बताए ।
बाटो बिराएकाहरु र निष्क्रिय रहेका पार्टी कार्यकर्तालाई संगठित गर्दै आगामी निर्वाचनमा नेकपा एमालेको एकल बहुमत आउने गरी पालिका, वडा, टोल र घरघरसम्म अभियान सञ्चालन गरिने स्थायी कमिटि सदस्य गुरुङको भनाइ छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य टुका हमाल र गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले मिसन ग्रासरुट अभियान सञ्चालनका सम्बन्धमा जानकारी गराएका थिए ।
यो अभियान अन्तर्गत फागुन १५ देखि २१ गतेसम्म ११ वटै पालिका कमिटिको बैठक बसेर दुई महिनासम्म चल्ने अभियानको योजना बनाइने एमाले जिल्ला कमिटि उपसचिव सुरेश श्रेष्ठले बताए । त्यसपछि सबै पालिकाको वडा कमिटि, टोल कमिटि हुँदै घरघरसम्म अभियान सञ्चालन हुने उनको भनाई छ ।

अभियानका लागि पार्टीका ११ वटा कार्यादेश सहित ४ जना केन्द्रीय सदस्यलाई पालिकाहरुमा खटाइने छ । उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गर्नेछन् ।
जसअन्तर्गत आरुघाट, चुमनुब्री र धार्चे गाऊँपालिकामा किशोरबिक्रम मल्ल, पालुङटार नगरपालिका सहित अजिरकोट र सिरानचोक गाऊँपालिकामा टुका हमाल, गोरखा नगरपालिका सहित भिमसेनथापा र वारपाक सुलिकोट गाऊँपालिकामा तिलक महत तथा गण्डकी र शहिद लखन गाऊँपालिकामा रविन्द्र अधिकारी खटिनेछन् । यो अभियानबाट पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ ।




