
अदुवा र बेसार विक्री नहुँदा केरौजाबेसीका किसान चिन्तित
केशव गुरुङ :
वर्षभरि मिहिनेत गरेर उत्पादन गरेको अदुवा र बेसार विक्री नहुदा गोरखा धार्चेका किसानहरु चिन्तित भएका छन् । धार्चे गाउँपालिका वडा नं २ केरौजाबेसीका किसानहरुले उत्पादन गरेको अदुवा र बेसार बजारमा विक्री नहुँदा थन्काएर राख्नुपरेको गुनासो गरेका छन् ।
वर्षभरि मिहिनेत गरेर उत्पादन गरेको बेसार विक्री नहुँदा थन्काएर राख्नुपरेको किसान फिरिन्दर घलेले बताए । ‘पहिले मकै, कोदो लगाइन्थ्यो त्यो पनि बाँदर खाएर हैरान गरेको थियो । अहिले अदुवा र बेसार लगाएका थियौ’, उनले भने, ‘अहिले उत्पादन गरेको सबै बेसार र अदुवा खनेर राखेका छौँ । थन्क्याएको धेरै भयो, कहाँ बेच्ने हो थाहा छैन ।’
उत्पादन भएको अदुवा र बेसार विक्री नहुँदा समस्यामा परेको उनले बताए । उनले करिब २० रोपनी क्षेत्रफलमा अघिल्लो वर्ष फागुनमा अुदवा र बेसार लगाएका थिए । गत मंसीरमा खन्दा अदुवा ३० क्वीन्टल र बेसार १० क्वीन्टल उत्पादन भएको भएको थियो । तर उत्पादन भएका अदुवा र बेसार कतै पनि विक्री नहुँदा समस्यामा परेको उनले बताए ।

अदुवा र हलेदो खेती गर्न फेज नेपाल नामक गैरसरकारी संस्थाले उनीहरुलाई बीउ वितरण गरेको थियो । तर सो संस्था गएपछि उत्पादन भएका बेसार र अदुवा कहाँ बेच्ने भनेर थाहा नभएको उनी बताउँछन् । ‘ हामीले संस्थाबाट प्रतिकेजीको एकसय ५० रुपैयाका दरले अदुवाको विउ किनेका थियौँ । अदुवा र बेसार गरेर करिब सात क्वीन्टल जति खरिद गरेका थियौँ । अहिले उत्पादन भएपछि किन्ने मान्छे पाएको छैन’, उनले भने । बीउ खरिद लगायत अदुवा र बेसार खेतीमा मात्र एक लाख भन्दा बढी खर्च भएको उनले बताए ।
उनी जस्तै अर्का किसान मानबहादुर गुरुङको पनि उस्तै समस्या छ । खेतबारीमा लगाएको दुई हजार केजी अदुवा थन्काएर राखेको उनको गुनासो छ । हलेदो भने अझै खनेका छैनन् । ‘अघिल्लो वर्षको बेसार विक्री नभएपछि यो वर्ष खनेकै छैन, बारीमै छ’, उनी भन्छन्, ‘अघिल्लो वर्ष केही ठाउँमा आठ÷दस केजी मात्र विक्री भएको थियो ।’
स्थानीयहरुले राम्रो विक्री हुन्छ भनेर रोपेको तर अहिले उत्पादन गरेर विक्री नहुँदा समस्यामा परेको उनको गुनासो छ । ‘पहिले मकै कोदो लगाएको बारीमा अदुवा र हलेदो लगाउदा राम्रो आम्दानी हुन्छ भनेर लगायौ’, उनले भने, ‘त्यो बेला सबै जना एकदम खुसी भएका थियौँ तर अहिले कसैले पनि किन्ने इच्छा देखाएको छैन ।’

उनले अघिल्लो वर्ष एक क्वीन्टल ५० केजी काठमाडौमा लगेर बेचेका थिए । तर काठमाडौसम्म आफै गएर बेच्नुपर्दा आउजाउमै धेरै खर्च हुने गरेको उनको अनुभव छ । चितवन लगायका अन्य ठाउँमा गएर सोध्दा ४÷५ केजीको मात्र अर्डर आउने गरेको किसान गुरुङले बताए । ‘अव रोप्ने सिजन सुरु भएको छ, अहिले खेतबारी सबै बाँझो छ, अदुवा रोपौँ भने अघिल्लो वर्षकै विक्री भएका छैन, त्यसैले मकै, कोदो रोप्ने कि अदुवा बेसार रोप्ने दोधारमा छु’, उनले भने ।
केरौजाबेसीमा १० जनाले अदुवा र बेसार खेती गरेका छन् । एक जना किसानले ५ देखि २० रोपनी क्षेत्रफलमा खेती गरेको तर कसैको पनि विक्री नभएकाले सबै किसान चिन्तित बनेका छन् ।




