| बुधबार, कार्तिक २५, २०८३

गोरखा महोत्सवमा ५१ लाख ७१ हजार आम्दानी, ४९ लाख १३ हजार खर्च

गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको ११ औँ गोरखा महोत्सवबाट दुई लाख ५८ हजार रुपैयाँ मात्रै बचत भएको छ । संघले पुस २७ देखि माघ ७ गतेसम्म गोरखा सदरमुकाममा आयोजना गरेको महोत्सवमा ५१ लाख ७१ हजार आम्दानी भएको र ४९ लाख १३ हजार खर्च भएको संघले सोमवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

‘योमध्ये पनि १६ लाख ५४ हजार उठ्न बाँकी छ, हामीले खर्च भएको तिर्न बाँकी १२ लाख ६० हजार छ’ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने । अपेक्षा गरेभन्दा कम बचत भएको उनले बताए । महोत्सवमा करिब एक करोड ५० लाखको कारोबार भएको संघले जनाएको छ ।

सबैभन्दा धेरै आम्दानी टिकट बिक्रीबाट भएको उनले बताए । टिकटबाट मात्रै २३ लाख ९ हजार रुपैयाँ जम्मा भएको थियो । सबैभन्दा धेरै खर्च राष्ट्रिय कलाकारको पारीश्रमिकमा भएको छ । १५ लाख २७ हजार रुपैयाँ कलाकारमा खर्च भएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

बिगतमा भन्दा खर्च कटौती गरिएको बताउँदै संघका अध्यक्ष श्रेष्ठलेयस वर्ष आम्दानी पनि घटेको बताए । ‘आयोजक, प्रायोजक देखि दर्शकको उपस्थिती पनि कम भयो’ उनले भने ‘बाल उद्यानबाट बिगतमा लिँदै आएको अनुपातमा पैसा लिन सकेनौँ ।’

संघले कृषि तथा घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने योजनाले महोत्सव गर्ने योजना बनाएपनि अपेक्षा अनुसार घरेलु उत्पादन, कृषि उपज बिक्री गर्ने स्टल राख्न नसकिएको जनाएको छ ।

महोत्सव संचालनका क्रममा पुस २७ गते पृथ्वीजयन्ती र माघ १ गते माघेसक्रान्ती जस्ता पर्व बिचमा परेका कारणपनि केही घाटा भएको संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए ।

संघका निर्वतनमा अध्यक्ष जिबनज्योती श्रेष्ठले गोरखा सँगै धेरै जिल्लामा महोत्सव संचालन भएको, एकै खाले महोत्सव चलिरहेको, कलाकार, बाल उद्यान, स्टलहरु सबै उस्तै भएकाले दर्शकको उपस्थिती सबैतिर कम हुँदा गोरखामापनि घटेको बताए ।

प्रतिक्रिया दिनुहोस्